उच्च शिक्षा अध्ययन गर्न शतप्रतिशत छात्रवृत्ति

ताप्लेजुङ ,१९ पुस । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको छ । एसईई उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्ने पालिकाभित्रका विद्यार्थीलाई गाउँपालिकाले शतप्रतिशत छात्रवृत्ति दिने भएको हो।
गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार उच्च शिक्षा अध्ययन गर्ने पालिकाभित्रका विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्न लागिएको हो। गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालय तथा पालिकाबाहिर तर, जिल्लाभित्रै अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको अध्यक्ष लिम्बूले बताए ।
उनका अनुसार प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई भने ५० प्रतिशत छात्रवृत्ति दिइने छ। प्राविधिक विषयबाहेक उच्च शिक्षाअन्तर्गत १० जोड दुई, स्नातक र स्नातकोत्तर तहसम्म अध्ययन गर्ने विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने भएको गाउँपालिका अध्यक्ष लिम्बूले बताए ।
यता छात्रवृत्ति प्राप्त गर्नका लागि गाउँपालिकाले केही मादण्डसमेत बनाएको जनाएको छ । विद्यार्थी गाउँपालिकाभित्रको स्थायी बासिन्दा हुनुपर्ने, सामूदायिक विद्यालय तथा क्याम्पसमा अध्ययन गरिरहेको हुनुपर्नेजस्ता गाउँपालिकाले मापदण्ड बनाएको छ । उक्त मापदण्डभित्र पर्ने विद्यार्थीले छात्रवृत्तिका लागि गाउँपालिकामा निवेदन दिनसमेत आह्वान गरिएको गाउँँपालिकाका सूचना अधिकारी जयप्रसाद रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.