-नगेन्दमणी न्यौपाने
दमक ,१९ पुस । दमक १० सेतुमारीस्थित एक दशक अघिबाट शुरु गरिएको सेतुमारी बजारको अस्तित्वनै संकट्मा पर्दै गएको छ । स्थानीय कृषि उत्पादनको सहज बजारीकरण गर्ने उद्देश्यले २०६७ सालबाट सेतुमारी बजार सञ्चालनमा ल्याइएको थियो ।
आफ्नै उत्पादन आफ्नै बजारको अवधारणा अनुरुप सेतुमारीमा बजार सञ्चालन गर्ने सोचले बजारको अवधारणा अघि बढाईएको दमक १० पूर्व वडा अध्यक्ष बोधराज न्यौपाने बताउँछन् ।
सो स्थानमा हरेक हप्ताको मंगलबार लाग्नेगरि बजारको शुरुवात गरेको भएपनि त्यसकार्यले निरन्तरता पाउन नसक्नु सिंगो १० नम्बर वडाकै लागि दुर्भाग्य भएको न्यौपाने बताउँछन् ।
कुनै समय सेतुमारी बजारमा साप्ताहिक पशुहाट समेत लाग्ने गरेको स्थानीयवासी बताउँछन् । सो स्थानमा बजार सञ्चालनका लागि स्थानीय दाताहरुले ९ कठ्ठा जग्गा निशुल्क प्रदान गरेका थिए ।
विशेष कारण केही समयपछि बजार सञ्चालन आउन नसक्दा त्यसैको निरन्तरस्वरुप एक दशक लामो समय बितिसक्दापनि अहिलेसम्म यस स्थानमा पुनः बजार लाग्न सकिरहेको छैन् ।
सेतुमारी बजार सञ्चालनमा आउदा खुशी बनेका यस क्षेत्रका सर्वसाधारणहरुको त्यो खुशी बजार बन्द भएसगै अहिले निराशामा परिणत भएको छ ।
स्थानीयस्तरमानै बजार सञ्चालनमा आउला र गाउँ घरमा उत्पादित कृषि उपजले सहज बजार पाउला भन्ने आशा गरेका थियौ तर ब्यबहारमा सो कुरा हुन नस्क्नु दुखद भएको जग्गादाता मध्येका एक देवेन्द्र श्रेष्ठले गुनासो गरे ।
‘हामीले आज बजारको अवस्था यस्तो होला भन्ने सम्मको कल्पना पनि गरेका थिएनौ तर दुर्भाग्यनै भन्नुपर्छ आज सेतुमारी बजारको अतित्वनै नामेट जस्तै हुँदै छ’– श्रेष्ठले दुखेसो पोखे ।
यहाँका श्रेष्ठ परिवारले बजार सञ्चालनका लागि निशुल्क लाखौ मूल्यको जग्गा उपलब्ध गराएका थियौ तर सम्बन्धित सरोकारवाला र सथानीयवासीले चासो र चिन्ता नराखिदिदा बजारमा निर्माण भएका लाखौ मूल्यका पसल कवलहरु पनि प्रयोग बिहिन बनिरहदा राज्यकोषको लाखौ बजेट दुरुपयोग जस्तै बनेको श्रेष्ठले गुनासो गरे ।
यो बजारस्थलमा दातृनिकाय आरआरएनले निर्माण गरिएको एउटा पसल कवल रहेको छ । त्यसैगरी दमक नगरपालिकाले अघिल्लो आर्थिक बर्ष को ५० लाख बढी लगानीमा सटर सहितका दुइवटा पसल कवलको निर्माण गरिदिएको छ । तर यस स्थानमा अझसम्म पनि पुनः बजार सञ्चालनमा आउन नसक्दा ती लाखौ मूल्यका भौतिक संरचनाहरु प्रयोग बिहिन बनिरहेका छन् । बजारका लागी भनेर निर्माण भएको सार्वजनिक शौचालय पनि जीर्ण बन्दै गएको छ ।
पुनः बजार सञ्चालनका लागि प्रकृया शुरु
यस स्थानमा पुनः बजार सञ्चालनका लागि प्रकृया शुरु भैसकेको र अब चाडै स्थानीयवासी तथा सरोकारवालाहरुसंग छलफल अघि बढाईने १० नम्बर वडा अध्यक्ष राजेन्द्र प्रसाद भण्डारी बताउँछन् । १० नम्बर वडाकै दिगो आयस्रोतको रुपमा बजार सञ्चालन गरि स्तरोन्नति गरिदै लगिने अध्यक्ष भण्डारीले बताए ।
सेतुमारी बजार स्थलमा जुन उद्देश्यले संरचनाहरु निर्माण गरिएको थियो त्यसको सहि उपयोग हुन नसक्दा सुरक्षा चुनौती समेत बढ्दै गएको स्थानीयवासीले गुनासो समेत गरेका छन् । बजार क्षेत्रमा निर्माण भएका भौतिक संरचना दुव्र्यसनीको थलो बन्लान की भन्ने त्रास समेत पैदा हुदैगएको स्थानीयवासीले चिन्ता ब्यक्त गर्न थालेका छन् ।
यसैगरी बजारस्थल नजिकै रहेको सेतुमारी बस पार्कको जग्गा पनि प्रयोग बिहिन बनिरहेको छ । स्थानीय दाताले बसपार्कका लागि निशुल्क प्रदान गरेको सो बसपार्कको गज्जाको पनि संरक्षण गरिनु पर्ने जरुरी देखिएको स्थानीयवासीहरु बताउँछन् ।
यस स्थानमा पुनः बजार सञ्चाननमा आउन सके दमकको दक्षिणी क्षेत्रका साथै कमल गाउँपालिकाको पश्चिम दक्षिण, गौरादह नगरपालिकाको पश्चिम उत्तरी क्षेत्रका साथै छिमेकी जिल्ला मोरङको उर्लाबारी र रतुवामाई नगरपलिकाका सर्वसाधारणहरुलाई प्रत्यक्ष लाभ पुग्ने देखिन्छ ।