धरमपुरमा स्व.चेम्जोङको शालिकको शिलान्यास

दमक,१८ पुस । झापाको शिवसताक्षीमा इतिहासबिद इमानसिंह चेम्जोङको शालिक निर्माण हुने भएको छ । शिवसताक्षी १ स्थित धरमपुर चौकमा निर्माण हुने इमानसिंह चेम्जोङको शालिकको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन )ले शिलान्यास गरेका हुन् ।
किरात याक्थुङ चुम्लुङ शिवसताक्षी १ वडा समिति धरमपुरले शनिवार चेम्जोङको १२० औँ जन्म जयन्तीको अवसर पारेर शालिक निर्माण कार्य शुरु गरिएको चुम्लुङ शिवसताक्षी वडाअध्यक्ष शिव शेर्माले बताए ।
अर्धकदको हुने शालिकको लागत १२ लाख ६४ हजार ९ सय ५६ रुपैयाँ रहने बताइएको छ । ६ महिना भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको शालिकको उचाई करिब ११ फुट अग्लो रहने जनाइएको छ । धरमपुर चौकमा निर्माण हुन लागेको शालिक निर्माणमा धरमपुरका विभिन्न संघ संस्था, बुद्धिजीवि व्यक्तित्व तथा सवै पक्षको सहयोग रहने बताईएको छ ।
इतिहासबिद चेम्जोङको शालिक शिलान्यास गर्दै प्रमुख थोप्राले लिम्बू समुदायको ऐतिहासिक दस्तावेज लेखेर नेपाली समाजलाई संसारमाझ परिचित गराउने भुमिका खेलेका इमानसिंह चेम्जोङलाई देशले राष्ट्रिय बिभुति घोषणा गर्नु पर्ने बताए । उनले चेम्जोङको शालिक निर्माणमा सबै समुदाय एक ढिक्का भएर लाग्न आग्रह गर्दै नगरको तर्फबाट पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा स्थानीय बुद्धिजीवि चन्द्रवीर नेम्वाङ,शिवसताक्षी नगरपालिका वडा न.१ का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ, शालिक निर्माण समितिका सल्लाहकार संयोजक दुर्गा नेम्वाङ लगायतले इतिहासकार चेम्जोङको योगदानको विषयमा बोलेका थिए ।
शालिक निर्माण गर्न देउबहादुर चेम्जोङको अध्यक्षतामा निर्माण उपभोक्ता समिति ,सरिता चेम्जोङको अध्यक्षतामा आर्थिक , मनकुमार चेम्जोङको अध्यक्षतामा प्रचारप्रसार लगायतका उपसमितिहरु गठन गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published.