दमक,१८ पुस । झापाको कमल गाउँपालिकाद्धारा सञ्चालित कमल नगर अस्पतालको सेवा विस्तारसंगै सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । २०७९ फागुन १ देखि पालिकाले कमल नगर अस्पताललाई सञ्चालनमा ल्याएको र सेवाहरु विस्तार गरेसंगै सेवा लिने विरामीहरुको संख्या बढ्दै गएको छ ।
कमल २ तोपगाछीमा सञ्चालित विशेषज्ञ सेवासहितको सो अस्पतालमा चालू आर्थिक बर्षको पाँच महिनामा कूल १४ हजार ८ सय जनाले सेवा लिएका छन् ।
अस्पतालमा स्वास्थ्य जाँचका लागि आएका ति मध्ये अधिकांशमा ग्याँष्टिक सम्बन्धिको समस्या हुने गरेको अस्पतालका मेसु डा.फुलकचन्द्र लावतीले जानकारी दिए ।
उनका अनुसार सो अस्पताल आउनेहरु मध्ये ३० प्रतिशत बिरामी ग्याष्ट्रिक सम्बन्धीको समस्याबाट पीडित रहेको पाइएको छ ।पेटसम्बन्धीको समस्या लिएर आएका बिरामीहरु धेरै अमाशयको सूजन अर्थात ग्याष्टिकका बिरामी हुने गरेका उनको भनाई छ ।
अस्पतालमा सोही अवधिमा १ हजार ६ जनाले प्रयोगशाला सेवा लिएका छन भने अस्पतालमा प्रसुति सेवाको लागि आकर्षण बढाउन र थप विश्वसनी बनाउनका लागि आकर्षक सुविधाहरु पनि स्थानीय सरकारले उपलब्ध गराउँदै आएको छ ।
अस्पतालमा सुत्केरी गराउन आउनेलाई निशुल्क एम्बुलेन्स सेवा, सुत्केरी स्याहारका लागि एकमुष्ठ पाँच हजार रुपैयाँ र विपन्न तथा पिछडिएको परिवार भए त्यस्ता सुत्केरीलाई पोषणयुक्त थप खानेकुरा समेत उपलब्ध गराउने गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक दिपक दाहालले जानकारी दिए । चालू बर्षको पाँच महिनामा सो अस्पतालमा ६ जनाले सुरक्षित प्रसुति सेवा लिएका छन् ।
मानसिक रोगीलाई विशेषज्ञ सेवा
अस्पालले गत असोज १६ गतेदेखि निशुल्क मानसिक स्वास्थ्य सम्बन्धीको विशेषज्ञ सेवा समेत प्रदान गर्दै आएको छ । नेपालकै चर्चित वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. नवराज कोइरालाले सो अस्पतालमा हरेक महिनाको तेस्रो बुधबार नियमित स्वास्थ्य जाँच तथा परामर्श सेवा प्रदान गर्दै आएका छन् । गत बुधबार मात्रै सो अस्पतालमा मानसिक समस्या सम्बन्धीका २ जनाले परामर्श तथा उपचार सेवा लिएका अस्पतालले जनाएको छ ।
डेण्टल सेवा
अस्पतालले हरेक हप्ताको आइतबार र बिहिबार दमकको आमा डेन्टलका चिकित्सकहरुको प्राविधिक सहयोगमा निशुल्क दाँतको परीक्षण तथा उपचार सेवा दिँदै आएको छ । अस्पतालमा सो सेवा लिन हरेक हप्तामा लगभग २० जना बिरामी आउने गरेका तथ्याकं छ ।
अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमसहित नसर्ने किसिमका दीर्घ रोगहरुको निदान तथा रोकथामका लागि औषधि सेवा, नेपाल सरकारद्धारा प्रदान गर्ने नियमित खानुपर्ने किसिमका ९८ प्रकारका औषधिहरु उपलब्ध गराउदै आएको छ भने पिएनसी भिजिट कार्यक्रम समेत सञ्चालन गरिआएको छ ।