दमक,१७ पुस । राष्ट्रिय टोपी दिवसको अवसर पारेर आज दमकमा १०८बर्षिय ज्येष्ठ रणबहादुर कार्कीलाई सम्मान गरिएको छ । स्थानीय गणतन्त्र चौंकमा एक कार्यक्रम गरि झापा,कमल गाउँपालिका ५ निवासी ज्येष्ठ कार्कीलाई सम्मान गरिएको आयोजक संस्था जीवन चक समाज नेपालका अध्यक्ष गणेश प्रसाद गौतमले बताए । उक्त संस्थाले केहिवर्ष यता आजको दिनलाई राष्ट्रिय टोपी दिवसका रुपमा मनाउदै आएको छ ।
जानकी शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डाक्टर राम उप्रेतीको प्रमुख आतिथ्यता र दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको विशिष्ट आतिथ्यतामा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक कार्कीको दिर्घ जीवनको कामना गरि सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यस अवसरमा वक्ताहरुले टोपीको महत्वका माथि चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै सामाजिक व्यक्तित्व डा. लेखनाथ न्यौपानेले टोपी स्वास्थ्यका हिसावले पनि उतिकै महत्व भएको चर्चा गरेका थिए भने स्रष्टा बेनु चुँडालले साहित्यीक प्रस्तुति मार्फत टोपीको महत्वबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान प्रदेश नम्बर १ अध्यक्ष कोमल प्रसाईं ,दमक १ का वडा अध्यक्ष तारा प्रसाद अधिकारी ,वडा ६ अध्यक्ष टेक बहादुर थापा , वडा ९का सदस्य समिन रिजाल दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि ,सञ्चारकर्मी,उद्योग व्यवसायीहरुको उल्लेखीय उपस्थिति रहेको कार्यक्रम संयोजक चैतन्य बरालले बताए ।