
दमक,१८ असार । मनसुन सुरु भएयता बाढीपहिरोलगायत विभिन्न विपत्तिमा परेर बिहीबारसम्म ३३ जनाको मृत्यु भएको छ । गत जेठ ३१ गतेदेखि यताको मनसुनी विपत्तिमा परेर ३० जना बेपत्ता भएका छन् भने अन्य ३० जना घाइते भएको गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । बुधबारदेखि मनसुनी वायु फेरि सक्रिय भएकाले थप क्षतिको सम्भावना बढेको छ ।
केन्द्रका प्रमुख दिलकुमार तामाङका अनुसार यस अवधिमा विपतमा परेर ४७५ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् भने ११२ घर आंशिक क्षतिग्रस्त भएका छन् । भौतिक क्षतितर्फ ३६ वटा सरकारी कार्यालय, छवटा सामुदायिक भवन र विद्यालय, २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल, जलविद्युत आयोजना १३ वटा, काठको पुल पाँचवटा र दुईवटा वित्तीय संस्था प्राकृतिक विपत्तिका कारण क्षतिग्रस्त बनेको केन्द्रले उल्लेख गरेको छ ।
जेठ २८ गतेबाट नेपालमा मनसुन भित्रिएको हो । त्यस अवधिदेखि यताको पाक्षिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भएका क्षतिको व्यवस्थापन र अबका दिनमा त्यसको न्यूनीकरणका लागि सामूहिक पहल गरिरहेको जनाएको छ । जेठ ३१ गतेदेखि असार १५ गतेसम्म बाढीले बगाएर १५, पहिरोमा पुरिएर ११ र भारी वर्षाका कारण एक जना गरी २७ जनाको मृत्यु भएको छ । सो अवधिमा ६७६ घरपरिवार विस्थापित हुन पुगेको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।
सबैभन्दा बढी सिन्धुपाल्चोक र मनाङमा क्षति भएको र मनसुनी प्रकोपका कारण देशका २६ जिल्ला प्रभावित बन्न पुगेको केन्द्रले जनाएको छ ।
६८ स्थानमा पहिरो र ३३ वटा खोलामा बाढी आएको जनाइएको छ । मनसुनी विपत्तिका कारण देशका विभिन्न प्रमुख राजमार्ग अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ ।
विपतमा परेकालाई केन्द्रबाट तत्काल राहत सामग्री उपलब्ध गराउदै आएको छ । प्राधिकरणले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा एक हजार १२९ थान टेन्ट, तीन हजार थान त्रिपाल, प्लास्टिक सिट ६० थान, कम्बल १० थान, स्लिपिङ ब्याग १४४ थान, ब्लाङ्केट ८० थान, जेनेरेटर दुई थान, ग्याबिन तार पाँच सय थानलगायतका सामग्री पठाइएको छ ।
अझै केही दिन मनसुन सक्रिय
अबको केही दिन मनसुनी वर्षा नरोकिने छाँट ल्याएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गले वर्षा अझै केहिदिन हुने र केहीबेर रोकिने गर्दै लगातार तीन-चार दिन निरन्तर यो क्रम जारी रहने देखिएको जनाए । तराई नजिक रहेको मनसुनी न्यून चापीय रेखा हलचल नगरी बसिरहेको छ । जसका कारण प्रदेश -१, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा वर्षा बढी भइरहेको छ । । मनसुन सक्रिय भएसँगै निरन्तरको वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानलगायत विपत जोखिमका घटना बढ्न सक्ने भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
मनसुनजन्य विपत्बाट हुन सक्ने सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई सक्रिय बनाइएको पनि मन्त्रालयले जनाएको छ ।