
–छविराज ढकाल
पथरीशनिश्चरे ,६ जेठ । महामारीको वेला नकरात्मक तथा गलत समाचारले समाजमा पार्न सक्ने प्रभाव र फेक न्यूजबारे सत्यतथ्य कसरी जाँच गर्ने भन्ने विषयमा विहिबार पत्रकार महासंघ झापाले एक भर्चुवल अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।
प्रमुख अतिथिको तर्फबाट भर्चुअल कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले कोरोना भाइरसका कारण नेपालमै पनि धेरै नेपाली जनताले अकालमा ज्यान गुमाउनु परिरहेको र यस्तो माहामारी र संवेदनशील घडीमा अग्रभागमा खटिएर काम गरिरहेका पत्रकारहरुले स्वास्थ्य सतर्कता अपनाउदै भ्रामक र तथ्यहीन समाचार प्रकाशन प्रसारण नगर्न पनि आग्रह गरेका छन् ।
कार्यक्रममा साउथ एसियन चेक मिडियाका सम्पादक दिपक अधिकारीले सहजीकरण गर्दे भाइरल हुने नाममा यूट्यूब, फेसबुक लगायतका सामाजिक सञ्जालमा आएका सबै समाचारप्रति विश्वास गर्न नसकिने बताए । त्यस्ता खबरहरु समाजलाई सकारात्मक र रचनात्मक सहयोग गर्ने खालका हुन वा होइनन् भन्ने सम्बन्धमा पत्रकारले आफैंले भरपर्दो स्रोतबाट जानकारी लिएर जाँच गर्ने र मानवीय संवेदनशीलताको विषयमा कलम चलाउन उनले सुझाएका हुन् ।
नकरात्मक प्रभाव पार्ने समाचारमुलक सामग्रीहरू पोष्ट नगर्ने , समस्या समाधानमुलक पत्रकारिताको अभ्यास गर्ने र ‘इमोसनल वड एण्ड कन्टेन्ट ’राखेर मानवीय संवेदनशीलतामाथि खेलवाड गर्न नहुने जवाफ दिएका थिए । उनले थुप्रै पत्रकारहरुले राखेको जिज्ञासा निदान गर्ने क्रममा उक्त कुरा बताएका हुन् ।
महासंघका झापा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए । प्रदेश नं १ को ताप्लेजुङ, पाँचथर, इलाम, झापा,मोरङ, सुनसरी,, धनकुटा, सङ्खुवासभा लगायतका जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत ९७ जना पत्रकारले कार्यक्रममा सहभागिता जनाएका थिए ।