झापामा एकैदिन ९ संक्रमितको मृत्यु

दमक,४ जेठ । कोरोना संक्रमणबाट झापामा आज मंगलबार एकैदिन नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ४ महिला र ५ पुरुष छन् । भद्रपुरका २ , दमकका २ , बिर्तामोडका २ , मेचीनगरका १ , बुद्धशान्तिका १ र कनकाईका १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भद्रपुरमा कोरोना संक्रमणका कारण छोराको मृत्यु भएको एक सातापछि बुवाको पनि कोरोनाकै कारण मृत्यु भएको छ । त्यस्तै दमकका दुईजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दमक ५ स्थित हरीऊँ कोलनीमा बस्ने ३५ बर्षिया महिलाको लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी बैशाख ३० गतेदेखि त्यस अस्पतालमा उपचाररत थिइन् । त्यस्तै बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा आज बिहान दमकका कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ८ की तामाङ थरकी ६२ वर्षिया महिला रहेकी छन् । दमकमा दोस्रो चरणको नयाँ भेरियन्टसहितको कोराना संक्रमणका कारण ६ महिला र ४ पुरुषसहित १० जनाको ज्यान गइसकेको छ । दमकमा ५ सय भन्दाबढी सक्रिय संक्रमित छन् ।
त्यस्तै बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा बिर्तामोड ४ की कुसवाह थरकी ४० वर्षिया महिलाको मृत्यु भएको छ । त्यस्तै बिर्तामोड ६ का ७९ वर्षिय गिरी थरका बृद्धको गएराति बाटैमा मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको नगर अस्पताल लगिएकोमा त्यहाँ उपचार नभएपछि घरतर्फ ल्याउँदै गर्दा उनको मृत्यु भएको हो । त्यस्तै मेचीनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मेचीनगर ७ इटाभट्टाका निरौला थरका ३२ वर्षिय पुरुषको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका सामाजिक विकास शाखाका नविन बरालले बताए । मेचीनगरमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ९ पुगेको छ ।
त्यस्तै बुद्धशान्तिमा नयाँ भेरियन्टबाट पहिलो मृत्यु भएको छ । बुद्धशान्ति ७ का प्रधान थरका ४२ वर्षिय पुरुषको मंगलबार बिहान बिर्तामोडको बिएण्डसी हस्पिटलमा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै कनकाई नगरपालिका ३ की उपे्रती थरकी ८६ वर्षिया बृद्धाको उपचारका क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको छ । त्यसैगरी सोही मेची अस्पतालमा इलामका निरौला थरका ५५ वर्षिय पुरुषको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको नेपाली सेनाले जनाएको छ । त्यस्तै बाह्रदशी गाउँपालिका ५ मा कोरोनाको लक्षण भएका एक पुरुषको आज बिहान मृत्यु भएको छ ।
श्वासप्रश्वास , ज्वरो लगायतका समस्या भएका राजवंशी समुदायका ५२ वर्षिय पुरुषको मृत्यु भएको हो । यसैगरी गौरादह ७ निवासी नेपाली कांग्रेसका पूर्व नगर सभापति कृष्णहरि थपलियाको पनि कोरोना संक्रमणवाट मृत्यु भएको छ । थपलियाको काठमाडौंमा उपचारका क्रममा सोमबार बेलुकी ७ बजे मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published.