बिर्तामोड, ४ जेठ । मेचीनगर नगरपालिकाका एक कर्मचारीको कोरोनाका कारण मृत्यु भएको छ । उनको ३३ वर्षको उमेरमा बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा आज विहान ८ वजे मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक तथा सामाजिक विकास समिति संयोजक नबिन बरालले बताए ।
मेचीनगर–७ निवासी उनको वैशाख २६ गते बीएन्डसीको भेन्टिलेटरमा उपचार भईरहेको थियो । उनको वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । उनलाई स्वास्थ्यमा थप समस्या आएपछि बीएन्डसी लगिएको थियो । उनी नगरपालिकाको विद्युत शाखामा ओभर सियरको रुपमा कार्यरत थिए । उनको श्रीमती र २ छोरा छन् ।
आज दिउसो धुलाबारीस्थित निन्दा खोलामा नेपाली सेनाको टोलीले दाहसंस्कार गर्ने तयारी भईरहेको संयोजक बरालले जानकारी दिए ।
योसँगै मेचीनगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।