झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक, विजेताले ११ लाख पाउने

बिर्तामोड,३ मंसीर । भारत र भुटानका टोलीसमेत सहभागी हुने दोस्रो झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ। मंसिर ५ देखि शिवसताक्षीस्थित दुधे रंगशालामा सञ्चालन हुने प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ पुरस्कार पाउनेछ।
.
आयोजक झापा महिला गोल्डकपले सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल क्लबको महिला टोलीले पोखराको आरएस फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। सचिवालय प्रमुख हिमाल खरेलका अनुसार मंसिर ६ गते त्रिभुवन आर्मी फुटबल क्लब र भारतको नयाँ दिल्लीस्थित एभी फुटबल क्लबबीच खेल हुनेछ।

त्यस्तै, मंसिर ७ गते सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले भुटानको थिम्पु राभेन वुमेन्स फुटबल क्लबसँग खेल्नेछ। मंसिर ८ गते नेपाल पुलिस फुटबल क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। पहिलो सेमिफाइनल मंसिर ९ र दोस्रो सेमिफाइनल मंसिर १० गते हुनेछ भने फाइनल खेल मंसिर १२ गते आयोजना गरिनेछ।

प्रतियोगिताको पुरस्कार राशि गत संस्करणभन्दा बढाइएको अध्यक्ष सन्तोष थोप्रा लिम्बुले बताए। उनका अनुसार यसपटक विजेताले ट्रफी र पदकसहित ११ लाख रुपैयाँ तथा उपविजेताले ट्रफी र पदकसहित पाँच लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। अघिल्लो संस्करणको तुलनामा विजेताको पुरस्कार ९० हजार र उपविजेताको ५० हजार रुपैयाँले वृद्धि गरिएको हो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन्। प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

पहिलो संस्करणको उपाधि नेपाल पुलिस फुटबल क्लबले जितेको थियो। यसपटक भारत र भुटानका टोलीको सहभागिताले प्रतियोगितामा प्रतिस्पर्धा थप रोचक हुने आयोजकको अपेक्षा छ।

प्रतियोगिताबाट सामाजिक उत्तरदायित्वअन्तर्गत पनि सहयोग गरिने भएको छ। अध्यक्ष थोप्राका अनुसार बिक्री हुने प्रत्येक टिकटबाट १० रुपैयाँ आदिवासी जनजाति दृष्टिविहीन तथा अटिजम भएका बालबालिकाको सहयोगमा खर्च गरिनेछ।

दर्शकका लागि टिकट दर एक सयदेखि पाँच सय रुपैयाँसम्म निर्धारण गरिएको छ। भिआइपी टिकटको मूल्य भने एक हजार रुपैयाँ राखिएको छ।

दर्शकको सुविधाका लागि रंगशालाको पूर्वतर्फ ग्याल्भनाइज्ड स्टिलका पाइप, क्ल्याम्प र कप्लर प्रयोग गरी अस्थायी प्यारापिट निर्माण गरिएको छ। प्रत्येक खेलमा करिब सात हजार दर्शक अटाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

अध्यक्ष थोप्राका अनुसार प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। आयोजकले यसलाई यसअघि आयोजना भएका महिला फुटबल प्रतियोगितामध्ये भव्य र आकर्षक प्रतियोगिता बनाउने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published.