सिंहदेवी दुर्गा मन्दिरमा सञ्चालित महायज्ञको आम्दानी तथा खर्च सार्वजनिक

पथरी शनिश्चरे, २२ भदौं । मोरङको पथरी शनिश्चरे–१०, जिरीखिम्तीस्थित सिंहदेवी दुर्गा मन्दिरमा सम्पन्न श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञको आम्दानी तथा खर्च सार्वजनिक गरिएको छ।

महायज्ञ आयोजक मूल समितिले आइतबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी नौदिने महायज्ञको आन्तरिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो।

भदौ ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको महायज्ञमा महायज्ञअघि मन्दिरको बैंक खातामा रहेको ३८ हजार १५४ रुपैयाँसहित महायज्ञका क्रममा सहयोग तथा दानबाट प्राप्त २४ लाख ९० हजार ८२५ रुपैयाँ गरी कुल २५ लाख २८ हजार ९७९ रुपैयाँ आम्दानी भएको छ।

महायज्ञका क्रममा पूजा सामग्री, खाद्यान्न तथा किराना सामान, टेन्ट, साउन्ड सिस्टम, गुरु वरण, सागसब्जी, गुरु दक्षिणा, प्रचारप्रसार, यातायात तथा इन्धन, विद्युत् तथा पानी, खाना तथा भाँडा, पञ्चेबाजा, ग्यास सिलिन्डर, देवी पूजा, स्टेशनरी तथा छपाइलगायत विभिन्न शीर्षकमा १२ लाख ८० हजार ८४२ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ। खर्च कटाएर १२ लाख ४८ हजार १३७ रुपैयाँ बचत भएको आयोजक समितिले जनाएको छ।

महायज्ञमा पहिलोपटक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीले विशेष प्रवचन दिएका थिए।

पथरी शनिश्चरेमै रहेर थुप्रै खोजमुलक पुस्तक प्रकाशन गरि पथरी शनिश्चरे नगरपालिकालाई चिनाउन विशिष्ट योगदान पुर्‍याएको भन्दै स्वर्गीय लेखक दीपेन्द्र तिम्सिनालाई मरणोप्रान्त सम्मान गरिएको छ। उनकी धर्मपत्नीलाई सम्मानसहित कदरपत्र प्रदान गरिएको थियो।

त्यस्तै, मन्दिरलाई पटक–पटक सहयोग गर्दै आउनुभएका दानवीर गंगाबहादुर कटुवालले १ लाख ७ हजार १६५ रुपैयाँ सहयोग गर्न पाउँदा खुसी लागेको बताए । पुराण अवधिभरका गतिविधि तथा समाचार विभिन्न सञ्चारमाध्यममार्फत देश–विदेशसम्म पुर्‍याउन योगदान पुर्‍याउने सञ्चारकर्मीहरूलाई पनि सम्मान गरिएको थियो।

पथरी शनिश्चरे नगरपालिकाकी कार्यपालिका सदस्य तथा वडा नम्बर १० की वडा सदस्य मिना कुमारी तामाङको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन सम्पन्न भएको हो।

कार्यक्रममा मन्दिर समितिका अध्यक्ष ठाकुरप्रसाद दाहाल, पुराण समिति संयोजक गंगाबहादुर कटुवाल, आन्तरिक लेखापरीक्षण समितिका संयोजक किशोर खड्का, आर्थिक समितिका संयोजक उमेश कोइरालालगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.