झापा,१० भदौं । नेपाल प्रहरीले रसुवामा बिहान आएको बाढीका कारण विभिन्न जिल्लामा ज्यान गएका कम्तीमा १७ जनाको शव फेला परेको पुष्टि गरेको छ। प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले रसुवामा १ पुरुष, नुवाकोटमा ३ महिला र ४ पुरुष, धादिङमा ३ महिला र २ पुरुष अनि गोरखामा १ पुरुषको शव फेला परेको बताए।
धादिङमा १ जना र गोरखामा २ जनाको पहिचान खुल्न नसकेको उनले जनाए। बाढीबाट त्यस क्षेत्रका धेरै जना हताहत भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
१९ पुल, ४० किलोमिटर सडक क्षतिग्रस्त
सडक विभागका अनुसार हालसम्म त्रिसुली नदीका विभिन्न भागमा अवस्थित १९ वटा पुलमा बाढीले क्षति पुर्याएको छ। विभागका अनुसार कम्तीमा ४० किलोमिटर सडक क्षेत्र पनि क्षतिग्रस्त भएको छ।
१३ वटा जलविद्युत् कम्पनीमा क्षति
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ईप्पानले तिब्बतबाट भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको जनाएको छ।
ईप्पानका अध्यक्ष मोहन डाँगीले निर्माणाधीन र निर्माण सम्पन्न भइसकेका निजी र सरकारी समेत गरी १३ वटा बिद्युत् आयोजनामा क्षति पुगेको बीबीसी न्यूज नेपालीलाई जानकारी दिए। उनका अनुसार रसुवामा ७ वटा र नुवाकोटमा छ वटा आयोजनामा क्षति पुगेको छ। ईप्पानका अध्यक्ष डाँगीले क्षतिको हदबारे थाहा नभएको बताए।
उनले जलविद्युत् आयोजनामा मानिसहरू फसे वा नफसेकोबारे बुझ्ने प्रयास भइरहेको जानकारी दिएका छन्। कतिपय आयोजनाका उत्पादन गृह र अन्य पूर्वाधार नदी छेउमा रहेका कारण मानिसहरू फसेको हुनसक्ने आशङ्का गरिएका छन्।
१०० वटा आपत्कालीन शय्या तयार
स्वास्थ्य मन्त्रालयले बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या छुट्याइएको जनाएको छ ।हालसम्म तीन जना घाइतेहरुलाई उद्धार गरेर काठमाडौँ ल्याइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैबीच विश्व स्वास्थ्य सङ्गठन -डब्लूएचओले नेपालका बाढी पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुराकानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण डब्लूएचओले पठाउन लागेको प्रधानमन्त्रीको सचिवालयका सुरेन्द्र बजगाईँले जानकारी दिएका छन्।
बाढीले ९ बैंकका शाखामा पूर्ण क्षति
रसुवा बाढीका कारण ९ वाणिज्य बैंकका शाखा पूर्णरूपमा क्षति भएका छन् । तिब्बतबाट रसुवा भोटेकोसी नदीमा आएको बाढीले आसपास बजारमा रहेका बैंकका शाखा क्षतिग्रस्त भएका हुन् ।
नेपाल बैंकर्स एसोसिएसन अध्यक्ष सन्तोष कोइरालाका अनुसार समान्य सोधपुछमा बैंकहरूका ९ वटा शाखामा पूर्ण क्षति पुगेको जानकारीमा आएको हो ।
‘हालसम्मको जानकारी अनुसार ९ बैंकका शाखा पूर्णरूपमा क्षतिग्रस्त छन् भने कर्मचारी पनि आधाभन्दा धेरै सम्पर्कमा छैनन्,’ कोइरालाले भने, ‘कर्मचारी सम्पर्कमा आउने क्रम जारी छ, क्षतिको विवरण पनि क्रमिक रूपमा संकलन भइरहेको छ ।’
बैंकका शाखा तथा कति कर्मचारी भन्ने विवरण संकलन क्रममा रहेको उनले बताए । बाढीले क्षति पुर्याएको क्षेत्रमा जान सकिने अवस्था छैन । फोन तथा इन्टरनेटका टावरमा समेत बाढीले क्षति पुर्याएकाले सम्पर्क गर्न पनि असहज भइरहेको उनले बताए ।