देवानगञ्ज घटना : चार जनालाई शहीद घोषणा

झापा ,२६ साउन । सरकारले सुनसरी र सिरहामा भएका छुट्टाछुट्टै घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता तथा सिरहाका गणेश यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
सरकारको निर्णयसँगै केही साताअघि सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका तीन जना र सिरहामा भएको घटनामा मृत्यु भएका एक जनालाई शहीदको दर्जा दिइएको हो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते राति दुई समूहबीच भएको झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उनी देवानगञ्ज क्षेत्रका स्थानीय बासिन्दा थिए । घटनाका क्रममा गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

कप्तानगञ्जमा दुई समूहबीचको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले लाठीचार्ज, अश्रुग्यास तथा गोली प्रहार गरेका थिए । घटनामा सर्वसाधारणसँगै सुरक्षाकर्मीसमेत घाइते भएका थिए । त्यसपछि स्थानीय प्रशासनले सम्बन्धित क्षेत्रमा कफ्र्यु आदेशसमेत जारी गरेको थियो ।
सोही घटनामा जयप्रकाश मेहता पनि गोली लागेर घाइते भएका थिए । उनको पेटमा गोली लागेको थियो । उनको पनि उपचारको क्रममा निधन भएको थियो । सरकारले सिरहामा भएको घटनामा ज्यान गुमाएका गणेश यादवलाई पनि शहीद घोषणा गरेको छ । यादव सिरहाको औरही गाउँपालिकाका हुन् । देबानगञ्ज घटनाको विरोधभा भएको प्रदर्शनका क्रममा गोली लागेर उनको मृत्यु भएको थियो ।
यस्तै घटनामा गोली लागेर गम्भीर घाइते भएका रवीन्द्र मेहताको पनि उपचारकै क्रममा काठमाडौंमा मृत्यु भएको थियो । घटनामा उनको बायाँ तिघ्रामा गोली लागेको थियो । गम्भीर घाइते भएपछि उनलाई विराटनगरबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

रवीन्द्रको शवको पोस्टमार्टम तथा शहीद घोषणाको विषयलाई लिएर उनका परिवार र सरकारबीच केही समय सहमति हुन सकेको थिएन । परिवारले शहीद घोषणा तथा गोलीको परीक्षणलगायत विषयमा अडान राख्दै आएको थियो । परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र मृतकलाई शहीद घोषणा गर्नुपर्ने माग राख्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published.