मेचीनगरमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

झापा, ३१ असार । मोटरसाइकलको ठक्करबाट झापाको मेचीनगरमा एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–४ का हरि बुर्जा मगरका छोरा ६ वर्षीय सम्भव बुर्जा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मेचीनगर नगरपालिका–४ आमडाँगीस्थित भित्री पक्की सडक खण्डमा पर्ने राईसिङडाँडादेखि बडाखालतर्फ जाँदै गरेको प्रदेश १–०१–०१७ प १८४१ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो । सडक पार गर्दै गरेको अवस्थामा अपरान्ह ४ः३० बजेतिर मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडको बीएन्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा बुधबार बिहानको राति मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
मोटरसाइकल र चालक सप्तरीको राजविराज नगरपालिका–९ का २७ वर्षीय सुधीरकुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published.