दमक , १६ असार । दमकका आधा दर्जन बढी संस्थागत विद्यालयले यसवर्ष पनि राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरि मनाएका छन् । धान रोपाईलाई व्यवहारिक रुपमा सिकाई आदानप्रदान गर्न विगतका वर्ष झै यसवर्ष पनि खेतखेतमा पुगेर विशेष उल्लासका साथ रोपाई गरेका हुन् ।
दमक- ८ स्थित पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी स्कूलले असार १५ अर्थात राष्ट्रिय धान दिवसमा रोपाई गरिएको प्रिन्सीपल सविता पोख्रेल भट्टराईले बताईन् । उनका अनुसार विद्यार्थी, शिक्षकहरुको सहभागितामा दमक १० मा करिव ५ कठठा जमीनमा धान रोपाई गरिएको छ ।
धान रोपाईमा स्कूलका कक्षा १ देखि ८ सम्मका सय बढी छात्रछात्रा विद्यार्थीहरु खेतैमा व्याड काड्ने र रोपाई सम्मका कृषि कर्महरु गरेर धान दिवस भव्य रुपले मनाईएको उनको भनाई छ ।
स्कूलका निर्देशक माधव भट्टराईले धान दिवस लगायतका मौलिक चाडपर्वहरुको महत्वका बारे विद्यार्थीहरुलाई यसरीनै सिकाई गरिदैआएको र यसले विद्यार्थीहरुको क्षमता अभिबृद्धिमा टेवा पुगेको बताउँछन् । त्यसक्रममा धान रोपाईसंगै दही चिउरा खाएर रमाईलो गरिएको थियो ।
यसैगरि, दमक- ५ स्थित सर्वोदय बोर्डिङ स्कूलले दमक -२ मा वृहत धान रोपाई गरेर अघिल्ला वर्षझै यसवर्ष राष्ट्रिय धान दिवस मनाईएको प्रिन्सीपल नविन योगीले बताए । सो स्कूललाई ‘सिक्ने स्कूल ’ का रुपमा विद्यालयले आफनो लक्ष्य लिएको छ ।
प्रिन्सीपल योगीका अनुसार कक्षा ८ देखि १० सम्मका ७० जना बढी विद्यार्थीहरुको सहभागितामा त्यहाँका सामाजिक अगुवा जितु धिमालको खेतमा पुगेर धान रोपाई गरेर धान दिवस मनाएका हुन् ।
दमककै झापा मोडल अंग्रेजी बोर्डिङ स्कूल (जेम्स ) , मदर ल्याण्ड अंग्रेजी बोर्डिङ स्कूल,सनराईज बोर्डिङ स्कूलले पनि राष्ट्रिय धान दिवस मनाएका छन् ।

तस्वीर – धान रोपाईमा सर्वोदय बोर्डिङ स्कूलका विद्यार्थीहरु