झापा, १२ असार । टिपरको ठक्करबाट झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवाखोला पुल नजिक एक बालिकाको मृत्यु भएको छ । यसरी ज्यान गुमाउनेमा बिर्तामोड नगरपालिका–३ की १० बर्षिया अनुकृति चापागाई रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार रामचोकबाट भद्रपुरतर्फ जाँदै गरेको मे १ क ६४३ नम्बरको गिट्टी बोकेको टिपरले पैदल हिँडिरहेकी अनुकृतिलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी अनुकृतिलाई उपचारका लागि बिर्तासिटी अस्पताल पु¥याइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
घटनापछि बालिकाको शव अस्पतालको शवगृहमा राखिएको छ । टिपर चालक बुद्धशान्ति गाउँपालिका–१ का ५३ वर्षीय श्यामप्रसाद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आक्रोसितले गरे टिपरमा आगजनी
बालिकाको मृत्यु भएपछि आक्रोशित भीडले ठक्कर दिने टिपरलाई आगजनी गरेका छन् । बाक्लो सुरक्षाकर्मीहरुको उपस्थितिका बावजुद आक्रोशित भीडले विहिबारराति १०.३५ बजे ठक्कर दिने टिपरमा आगजनी गरेका हुन् ।
दुर्घटना स्थलमा मृतकका आफन्त र स्थानीय गरि करिब ३ सय जना भेला भई टिपरमा ढुङ्गामुडा गरि पेट्रोल छर्किएर आगजनी गरेका थिए । आगजनीबाट टिपरको अगाडिको भागमा क्षति पुगेको छ । आगो बिर्तामोड नगरपालिकाको दमकलले निभाएको थियो । दुर्घटना स्थलमा ठूलो संख्यामा स्थानीयहरु भेला भई होहल्ला गरेका थिए भने टिपरलाई दुर्घटना स्थलबाट निकाल्न अवरोध गरेका थिए। प्रहरीले लाठीचार्ज गरी प्रर्दशनकारीहरुलाई तितरबितर बनाएको थियो ।
टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि बिर्ताबजारमा तनाव भएको हो ।
९ दिनमा भुटानी शरणार्थी वृद्धसहित ४ को मृत्यु
यसैवीच, टिपरको ठक्करबाट जिल्लामा गएको ९ दिनमा एक जना भुटानी शरणार्थी वृद्धसहित ४ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परेर दमकमा २ , गौरादहमा १ जना पुरुषको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।