पर्यटकको रोजाइमा चुलाचुलीको ‘तीनकुने पोखरी’

चुलाचुली,२५ चैत । इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ ।

स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको कलाकर्मी समेत रहेका स्थानीय सामाजिक अगुवा चेतन आङथुपोले बताए । “शनिबार र सार्वजनिक बिदाको दिन पोखरी घुम्न आउने पर्यटकको भीडभाड हुने गर्दछ”, उनले भने , “पोखरी घुम्न आउने पर्यटकले यस क्षेत्रको चहलपहल बढेको छ ।”

चुलाचुली गाउँपालिका–२ मोरङ्गे झोडाको सामुदायिक वनमा करिब ६ बिगा क्षेत्रफलमा फैलिएको तीनकुने पोखरी सिमसार क्षेत्र पर्यावरण र पर्यटकीय दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण साथैं भौगोलिक रुपमा  समेत उतिकै आर्कषण रहिआएको छ । विसं २०५२ मा स्थानीय अगुवाले गहिरो खोल्सीलाई बाँध कसेर पानी सञ्चित गर्न थाले पनि २०७२ सालदेखि औपचारिक रुपमा पोखरी निर्माण गरेका थिए ।
समुन्द्री सतहबाट करिब १८५ मिटर उचाईमा रहेकको तीनकुने पोखरी पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ करिब साढे ५ किलोमिटर दुरीमा पर्दछ । झापाको केर्खा बजार–पाडाजुङ्गीबाट उत्तर नर्सरी हुँदै मोटरसाइकल, सफारी, अट्टो र साना, ठूलो सवारीसाधनमार्फत सजिलै तीनकुने पोखरी पुग्न सकिन्छ ।

तीनकुने पर्यटन महोत्सव
यसैबीच, तीनपोखरीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि ‘तीनकुने पर्यटन महोत्सव’ आयोजना हुँदैछ । स्थानीय ‘तीनकुने पोखरी सिमसार क्षेत्र’ को आयोजनामा तीनकुने पोखरीको खुला मैदानमा महोत्सव सञ्चालन हुन लागेको हो ।

यही वैशाख १ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनको प्रयास गरिने आयोजक समितिका संयोजक नगीन्द्र श्रेष्ठले बताए । ‘चुलाचुलीको पहिचान, पर्यटनको अभियान’ मूल नारासाथ सञ्चालन हुने महोत्सवमा आदिवासी लिम्बू समुदायको च्याब्रुङ नाच (केःलाङ), राई समुदायको साकेला नाच, नेवार समुदायको लाखे नाच, तामाङ जातिको सेलो, मगर जातिको मारुनी, खसआर्य जातिको सङ्गिनीलगायत विभिन्न जातजातिका सांस्कृतिक झाँकी र वेषभूषा प्रदर्शन गरिनेछ । स्थानीय कला, संस्कृति, हस्तकला सीप, स्थानीयद्वारा उत्पादित रैथाने खानपान प्रदर्शनीमा राखिने संयोजक श्रेष्ठले जानकारी दिए ।
“यहाँका आदिवासी भूमिपुत्रहरुको मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने हाम्रो प्रयास हो । यसका लागि प्रत्येक दिन अलगअलग कार्यक्रम तय गरिएको छ”, संयोजक श्रेष्ठले भने, “मुख्य रुपमा स्थानीय क्षेत्रकै रैथाने उत्पादनलाई व्यवसाय तथा अर्थतन्त्रसँग जोड्न र युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न सहयोग गर्ने उद्देश्य हो ।”
महोत्सवमा राजेशपायल राई, साहिल लिम्बू, पूजा लामा, पदम राई र एलिना चौहानको साथमा अन्य स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुती रहने आयोजक समितिका सचिव सेमन्ता खनालले जानकारी दिईन् ।

महोत्सवले तीनकुने पोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्नमा सहयोग पुग्नेमा आफू विश्वस्त रहेको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । स्थानीयवासीको सक्रियतामा यहाँ महोत्सव आयोजना गरिएको हो । यसबाट तीनकुने पोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्नमा सहयोग पुग्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published.