कमलका तीन ठाउँमा महिला लक्षित स्वास्थ्य शिविर

कमल,२० चैत । जिल्लाको कमल गाउँपालिकाले गाउँपालिकाका तीन स्थानमा महिला लक्षित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।पालिका भित्र बसोबास गर्ने महिलाहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै पालिका भित्रका तीन स्थानमा यहि चैत २४ देखि २९ गतेसम्म महिला लक्षित स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखा प्रमुख दिपक दाहालका अनुसार विशेष गरी स्वास्थ्य सेवाको सहज पहुँचमा पुग्न नसकेको ठाउँ र समुदायका महिलालाई लक्षित गरेर विकेन्द्रीत ढंगबाट महिला स्वास्थ्य लक्षित घुम्ती शिविर सञ्चालन गरिने भएको हो । शिविरका क्रममा वडा नं १ , ३ र ७ का आधारभूत स्वास्थ्य केन्द्रहरुमा महिला स्वास्थ्य परीक्षणसँगै उपचार र परामर्श सेवा सञ्चालन गर्न लागिएको शाखा प्रमुख दाहालले जानकारी दिए । शिविर सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सवै तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

उनका अनुसार यही चैत २४ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र कमल ३ , २६ गते वडा नं १ र २९ गते कमल ७ को आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिनेछ । शिविरमा महिलाहरुमा देखिने स्वास्थ्य समस्याहरुको स्क्रीनिङ तथा व्यवस्थापन गरिनेछ । शिविरमा पाठेघरको मुखको क्यान्सर (भीआइए) परीक्षण, स्तन क्यान्सर स्क्रीनिङ, आङ खस्ने समस्याको जाँच तथा आवश्यक परामर्श र रिफरल सेवा समेत प्रदान गरिने शाखा प्रमुख दाहालले बताए ।

कमल गाउँपालिकाले ग्रामीण क्षेत्रमा गर्भवती महिलाहरुका लागि भिडियो एक्स–रे सेवा समेत निशुल्क प्रदान गर्दै आएको छ । प्रजनन रुग्णता कार्यक्रम अन्तर्गत हुने सो शिविरमा कमल नगर अस्पताल,स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहयोग रहने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.