फागुन २१ को निर्वाचन ‘ऐतिहासिक जनादेश ’ : रास्वपा झापा- ५

दमक,११ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी झापा–५ ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट प्राप्त जनादेश देशको संक्रमणकालीन राजनीतिक अवस्थाको अन्त्य भई देशले समृद्धिको यात्रा तय गर्ने औंल्याएको छ ।

रास्वपा क्षेत्रीय समितिले बुधबार दमकस्थित पार्टी सम्पर्क कार्यालयमा पत्रकार सम्मेलनमार्फत चुनावी प्रतिवेदन सार्वजनिक गरि रास्वपालाई दिएको जनादेश सामान्य राजनीतिक परिणाम मात्र नभई देशको राजनीतिक दिशा परिवर्तनतर्फ संकेत गर्ने महत्वपूर्ण घटना भएको उल्लेख गरेको छ ।

चुनावी प्रतिवेदन सार्वजनिक गर्दै क्षेत्रीय सभापति भेषराज भट्टराईले यस क्षेत्रबाट अत्याधिक मतका साथ पार्टीका बरिष्ठ नेता बालेन शाहको विजयी हुनु उनको लोकप्रियता, व्यक्तिगत छवि, स्पष्ट दृष्टिकोण र राजनीतिक भिजनसँगै स्थानीय तहमा बनेको सुव्यवस्थित संगठन संरचना, सक्रिय सचिवालय र विभिन्न समितिहरूबीचको बलियो एकता प्रमुख आधार भएको जानकारी दिए । यसले आगामी दिनमा नेपालको समग्र राष्ट्रिय राजनीति र शासन प्रणालीमा दीर्घकालीन प्रभाव पार्ने उनले जोड दिए ।

प्रतिवेदन सार्वजनिक गर्दै भट्टराईले मतलाई परिणाममा रूपान्तरण गर्न निर्वाचित प्रतिनिधि तथा नेतृत्व तहले जनताका आधारभूत आवश्यकतामा केन्द्रित भएर प्रभावकारी काम देखाउने अवसर रहेको उल्लेख गरे । उनले भने, –‘ यस क्षेत्रबाट निर्वाचित शाह देशकै कार्यकारी प्रमुख प्रधानमन्त्रीमा नयाँ जिम्मेवारी सम्हाल्ने अवसर हामी सवैका लागि खुसीको बिषय भएकाले आगामी दिनमा जनताको विश्वास जित्ने काममा यहाँको सक्रिय भूमिका रहने छ ।’
त्यस्तै, “हाम्रालाई होइन, राम्रालाई प्राथमिकता” भन्ने सोचसहित आगामी स्थानीय तथा प्रदेश निर्वाचनका लागि बहस र तयारी सुरु गर्न पनि पार्टी नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई प्रतिवेदनमार्फत निर्देशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published.