कमलमा महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि रिफ्रेसर तालिम

दमक,७ चैत । राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि झापाको कमलमा चार दिने रिफ्रेसर तालिम सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय झापाको आयोजना तथा कमल गाउँपालिकाको समन्वयमा क्याम्पास्थित कमल नगर अस्पतालमा सञ्चालन गरिएको तालिममा पालिका भरिका महिला स्वमसेविकहरुको सहभागिता रहेको थियो ।
चैत्र ४ गतेदेखि सुरु भएको तालिम आज शनिबार कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा औपचारिक कार्यक्रम गर्दै समापन गरिएको हो ।
समुदायस्तरमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा सहभागी स्वयंसेविकाहरूलाई मातृ तथा शिशु स्वास्थ्य, पोषण, विपद् व्यवस्थापन, परिवार नियोजन, विभिन्न रोगहरूको पहिचान तथा रोकथाम, सरसफाइ, खोप कार्यक्रम तथा प्राथमिक स्वास्थ्य सेवासम्बन्धी नवीन ज्ञान र सीप प्रदान गरिएको स्वास्थ्य कार्यालय झापाका अधिकृत युवनाथ बरालले जानकारी दिए।

कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दाहालका अनुसार यस तालिमले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
तालिममा  कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दाहाल, जनस्वास्थ्य निरीक्षक कुशल श्रेष्ठ, सिनियर अहेव अधिकृत टिकाराज बर्देवा तथा सिनियर अनमि निरीक्षक गीता मगरातीले सहजीकरण गरेका थिए।
समापन सत्रमा गाउँपालिका अध्यक्ष राईले महिला स्वास्थ्य स्वयंसेविकाहरूको निरन्तर योगदानको प्रशंसा गर्दै यस्ता रिफ्रेसर तालिमहरूले उनीहरूको कार्यसम्पादनमा थप सुधार ल्याउने विश्वास व्यक्त गरे । अध्यक्ष राईले महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायस्तरमा स्वास्थ्य सेवाको पहिलो सम्पर्क बिन्दु भएकाले उनीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमहरू अत्यन्त महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.