दमक,७ चैत । याक्थुङ लिम्बू जातिको साझा संस्था किरात याक्थुङ चुम्लुङको १२औँ राष्ट्रिय महाधिवेशन यहि चैत १२, १३ र १४ गते झापाको चन्द्रगढीमा हुने भएको छ ।
चुम्लुङ झापा जिल्ला समितिको व्यवस्थापन र चुम्लुङ भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा तीन दिने १२औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको हो ।
भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा हुने महाधिवेशनको पहिलो दिन विभिन्न जातीय झाँकी सहितको र्यालीले नगरपरिक्रमा गरी रंगशाला परिसरमा विविध सांस्कृतिक कार्यक्रमसहित औपचारिक रुपमा उद्घाटन गरिने चुम्लुङ महासचिव निरन्ती तुम्बापोले जानकारी दिईन् ।
उनका अनुसार महाधिवेशनमा देशभरिका १५ जिल्ला, २ प्रदेश, विषयत ६ समिति, विदेशस्थित चुम्लुङको २० शाखा र याक्थुङ थरगतको २८ समितिका करिब ५ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने छन् ।
खुलासत्र सकेर १२ गते साँझबाटै बन्दसत्र सुरु हुने र बन्दसत्रमा संस्थाको सांगठनिक प्रतिवेदन, नो कोशी, मुक्कुमलुङमा नो केबलकार, पहिचान, भाषा ,साहित्य, आदिवासीको सवाल सम्बोधनका लागि नीति निर्माणको विषयमा छलफल हुनेछ । चैत १४ गते नयाँ सङ्घीय कार्य समिति चयन गरि महाधिवेशन सम्पन्न हुने बताइएको छ ।
महाधिवेशन सफल बनाउँन विभिन्न उपसमिति गठन गरेर तिव्र गतिमा तयारी थालिएको चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाकले बताए ।