बिर्तामोड ,२९ फागुन । वर्षासँगै आएको हावाहुरीले रुख ढाल्दा रुखले किचेर एक झापामा एक किशोरीको मृत्यु भएको छ । बिहीबार राति अविरल वर्षासहितको हावाहुरीलले घर छेउको आपको रुख ढलेर किच्दा झापा हल्दिवारी गाउँपालिका २ पाराखोपीका प्रेमलाल राजवंशीकी छोरी १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो ।
घरमा सुतिरहेको अवस्थामा उनलाई रुखले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीका अनुसार राति करिव ९ बजे आएको हावाहुरीले परिवारका अन्य सदस्यहरुको भने स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।
लामो समयपछि झापामा अचानक हावाहुण्डरी र वर्षा हुदा अन्य स्थानमा समेत रुख, बिजुलीको पोल ढलेर सडक अवरुद्ध भएको छ ।
पानीमा डुबेर सोरेनको मृत्यु
जमेको पानीमा डुबेर झापाको हल्दिवारीमा एक जनाको मृत्यु भएको छ ।हल्दीबारी गाउँपालिका–२ का ३७ वर्षीय सुनिलराम सोरेनको घरदेखि करिब पाँच सय मिटर पूर्वतर्फ रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका सोरेन राजमिस्त्रीको काम सकेर घर फर्किने क्रममा लडेर पानी जमेको खेतमा डुबेका थिए।बिहान करिब ७ बजे स्थानीयले शव देखेपछि नेपाल प्रहरी को प्रहरी चौकी हल्दीबारी मा खबर गरेका थिए ।
घटनापछि नेपाल प्रहरी को टोलीले प्रारम्भिक अनुसन्धान पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी गुरुप्रसाद तिम्सिनाले जानकारी दिए ।