दमक, ३ फागुन । नेपाली कांग्रेसबाट झापा -५ की उम्मेदवार मन्धरा चिमरिया पौडेलले चुनावी अभियान अन्तर्गत घरदैलो र विभिन्न सामाजिक कार्यकर्ताहरुसँगको भेटघाटलाई बढाएकी छिन् । झापा क्षेत्र नं ५ मा हेभिवेट भनिएका उम्मेदवार नेकपा एमालेका केपी शर्मा ओली पार्टीको आन्तरिक एकता मिलाउन व्यस्त हुँदा प्रतिस्पर्धी दलकी उम्मेदवार चिमरियाले दमक भित्र घरदैलो तथा भेटघाट कार्यलाई तीव्र बनाएकी हुन् ।
एक साता लामो क्षेत्र बसाईपछि काठमाडौं फर्किएका एमाले अध्यक्ष ओली आइतवार विहान भद्रपुर हुदै दमक आएका हुन् । यसैक्रममा आइतबार सो पार्टी निकटका शिक्षकहरुलाई मिलाउन केन्द्रित हुँदा कांग्रेस उम्मेदवार चिमरिया दिनभर दमकको मुख्य बजार क्षेत्रका मतदाताहरुमाझ पुगेकी थिइन् । उनले पूर्व निर्धारित तालिका अनुसारनै आइतबार बिहानैदेखि दमकको ६ नम्बर वडाका मतदाताहरुलाई घर, पसलमा पुगेर भेट गरेकी हुन् ।
मतदाताहरुसँगको भेटमा उम्मेदवार चिमरियालाई बिषम परिस्थितीमा महिला नेतृत्वहरुको भूमिका महत्वपूर्ण हुने भएकाले झापा ५ को भुगोलमा सधैं क्रियाशील महिला उम्मेदवारनै आफूहरुको रोजाईमा पर्ने भन्दै उत्साहपूर्ण प्रतिक्रिया दिएका छन् ।
वडा नं ६ मा मत माग्ने सिलसिलामा घरदैलो कार्यक्रमपछि भेटिएका कांग्रेसका पुराना स्थानीय कार्यकर्ता महेन्द्रनारायण चौधरीले भने– ‘ कांग्रेसमा परिवर्तन आएको छ , गगन थापा नेतृत्वको नयाँ कांग्रेस बनेकोले पनि म एकदमै खुशी छु ।’
गगन थापा दमक आएपछि एकपटक भेटेरै बधाई दिँदै सुझाव पनि राख्नु छ । कांग्रेस दमक नगर समितिका कार्यवहाक सभापति प्रेम भट्टराईले उम्मेदवारसँगै कांग्रेसका पुराना नेता, कार्यकर्ताहरुसमेत घरदैलोमा सहभागी हुँदा बिगतमा गुमेको कांग्रेसको बिरासत फर्काउन सकिने विश्वास बढेको प्रतिक्रिया दिए ।
कांग्रेसले २०५६ को उपचुनावमा यो क्षेत्रमा जित हासिल गरेको थियो । स्वर्गीय डा.गोपाल कोइरालालाई उम्मेदवार बनाउँदा कांग्रेसजनमा जुन उत्साह थियो त्यही उत्साह अहिले कार्यकर्ताहरुमा देखिइरहेको बताउँदै कांग्रेसका जिल्ला सदस्य एवं युवा नेता पर्शुराम रिजालले यसपटक कांग्रेसले यहाँ गुमेको बिरासत फर्काउने दाबी गरे ।
कमल ६ मा पनि घरदैलो सञ्चालन
कांग्रेसकी उम्मेदवार चिमरियालाई जिताउन कमल ६ दुई दिनदेखि घरदैलो कार्यक्रम सञ्चालन गरिआएका छन् । उम्मेदवारसहितको वडा स्तरमा घरदैलो कार्यक्रम अघि नै वडाले वडा भित्र भोट माग्ने क्रम उत्साहका साथ सञ्चालन गरिरहेको पार्टीका क्षेत्रीय सचिव धर्मानन्द भटटराईले बताए । उनका अनुसार घरदैलोका क्रममा सर्वसाधारणहरु कांग्रेस प्रति साध्य माया रहेको थियो । आइतवार सो वडाको सोनापुर, रत्नपुर,नयाँ बस्ती हुदै पञ्चकन्या सम्म पुगेको घरदैलोमा सहभागि लंक खड्काले बताए । द्दरदैलोमा वडा भित्रका पार्टी नेतत्व, पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।