वैवाहिक वर्षगाँठमा चौधरी दम्पतीद्वारा २१ हजार २१ रुपैयाँ सहयोग

झापा,२५ माघ । वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व उपाध्यक्ष, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य एवं बिर्तामोडका युवा व्यवसायी घनश्याम चौधरीले आफ्नो १९औँ वैवाहिक वर्षगाँठको अवसरलाई समाजसेवामा समर्पित गरेका छन् ।

देउरानी जेठानी साडी शोरुका सञ्चालक समेत रहेका चौधरीले श्रीमती पुनम चौधरीसहित संघको कार्यालयमा आएर संयुक्त रूपमा बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषलाई २१ हजार २१ रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित विशेष कार्यक्रमका बीच चौधरी दम्पतीले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रम नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा सहयोग प्रदान गर्दै चौधरीले वैवाहिक वर्षगाँठजस्ता व्यक्तिगत उत्सवलाई फजुल खर्चमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्न पाउँदा खुशी लागेको बताए । उनले व्यवसायी राहत कोषजस्तो अभियानमा सहयोग गर्न पाउँदा गर्व महसुस भएको उल्लेख गर्दै अन्य व्यवसायीहरूलाई पनि यस्ता कोषमा योगदान गर्न उत्प्रेरित गरे । ‘थोरै खर्च कटाएर ठूलो अर्थ राख्ने काम गर्न सकिन्छ,’ उनले भने ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले राहत कोषको उद्देश्य र हालसम्मको अवस्थाबारे जानकारी गराउँदै कोषमा करिब २५ लाख रुपैयाँ जम्मा भइसकेको बताए । उनले चौधरी दम्पतीको सहयोगले कोषलाई थप बल पुग्ने विश्वास व्यक्त गरे ।

संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा संघका विशिष्ट सदस्य निर्मल भट्टराई, उपाध्यक्षद्वय विशाल थापा र जीवन खड्का, सचिव राजकुमार साहलगायत कार्यसमिति सदस्यहरूको उपस्थिति थियो । सो अवसरमा कोषमा सहयोग रकम प्रदान गरेर कोष वृद्धिमा सहयोग पु¥याएको भन्दै संघले चौधरी दम्पत्तिलाई कदरपत्रद्वारा सम्मान गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published.