दमक,१० माघ । नेपाली कांग्रेस झापा क्षेत्र न. ५ क्षेत्रीय समितिले आफना उम्मेदवारलाई जिताउन एक दर्जन विभिन्न उपसमितिहरु गठन गरेको छ ।दमकस्थित क्षेत्रीय कार्यसमितिको शुक्रवार बसेको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार मन्धरा चिमरिया पौडेललाई विजयी गराउन विभिन्न उपसमिति गठन गरि चुनावी अभियान तीव्र थाल्ने निर्णय भएको क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले जानकारी दिए ।
क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा बसेको बैठकमा केन्द्रदेखि वडा तहसम्मका नेता–कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकको निर्णयअनुसार क्षेत्रीय सभापति भण्डारीको संयोजकत्वमा मूल प्रचार–प्रसार समिति गठन गरिएको छ ।
उक्त समितिमा यस क्षेत्रका पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला पदाधिकारी तथा सदस्य, प्रदेश क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्य, साथै गाउँ र नगरपालिकाका पदाधिकारी तथा सदस्यहरू रहने व्यवस्था गरिएको छ ।
त्यसैगरी पदम बुढाथोकीको संयोजकत्वमा आर्थिक समिति, पर्शुराम रिजालको संयोजकत्वमा सामाजिक सञ्जाल तथा सूचना–सञ्चार समिति, गोकुल श्रेष्ठको संयोजकत्वमा तरुण तथा युवा परिचालन समिति, शुनिल राईको संयोजकत्वमा विद्यार्थी तथा स्ववियु परिचालन समिति, गोमा बुढाथोकीको संयोजकत्वमा महिला परिचालन समिति, डा. नेत्र बुढाथोकीको संयोजकत्वमा बुद्धिजीवी तथा अगुवा समन्वय समिति गठन गरिएको छ ।
यस्तै, जितु धिमालको संयोजकत्वमा आदिवासी जनजाति परिचालन समिति र सुरेश सुब्बाको संयोजकत्वमा निर्देशन, अनुगमन तथा अनुशासन समिति गठन गर्ने निर्णय भएको कांग्रेस क्षेत्रीय सचिव भट्टराईले जनाएका छन् ।
गठित समितिहरूले निर्वाचन केन्द्रित गतिविधि प्रभावकारी रूपमा सञ्चालन गरी पार्टी उम्मेदवारलाई विजयी गराउने गरि चुनावी अभियानलाई तीव्र बनाउने सचिव भटटराईले बताए ।