सवारी दुर्घटनामा झापामा दुईजनाको मृत्यु

दमक, ५ माघ । झापाको दमक र विर्तामोडमा भएका सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ ।यसरी ज्यान गुमाउनेमा दमक- १० का २४ बर्षिय युवराज पाठक र दमक ठेगाना भएकी अन्दाजी वर्ष २२ की सुजता बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार दमक नगरपालिका–९ स्थित बिजुली अफिस नजिक गएराति करिब १२ बजे तिर मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा पाठकको मृत्यु भएको हो भने झापाको बिर्तामोड चौंकस्थित अदुवा पुल सडकखण्डमा मोटरसाइकल र अटो रिक्सा एकापसमा ठोक्किदा घाईते मोटरसाईकलमा सवार ती युवतीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आज विहान उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
सोहि दुर्घटनामा घाईते भएका मोटरसाइकल चालक गौरादह नगरपालिका -३ का २४ वर्षिय निरज कार्कीको समेत सोहि अस्पतालमा उपचार भइरहेको छ । दुवै घटनाका बारेमा आवश्यक अनुसन्धान भईरहेको झापा प्रहरी प्रवक्ता खगेन्द्रबहादुर कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published.