दमक,३० पुस । टाँडी स्पोर्टिङ क्लव मोरङ झापाको कमल गाउँपालिका- ७ विष्णुकट्ठामा जारी दोस्रो सृजनशील नकआउट महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
विहिबार भएको अन्तिम सेमिफाइनलमा टाँडीले शानदार नतिजाका साथ बेलवारी फूटवल क्लवलाई हराउदै फाइनलको यात्रा सुरक्षित गरेको हो ।कमल- ७ विष्णुकट्ठास्थित सिंहदेवी आधारभूत विद्यालयको खेल मैदानमा भएको खेलमा टाँडीले १ का विरुद्ध ५ गोल गरि फाइनलमा पुगेको हो ।
खेल अवधिभरि टाँडीले बेलवारीलाई दबाबमा राखेको थियो । बेलवारी माथि टाँडीकी इमा राईले ४ गोल गरेकी थिईन् । सो खेलको म्यान अफ दि म्याचबाट सर्वाधिक गोलकर्ता इमा राई पुरस्कृत भईन् ।
टाँडीले माघ ३ गते शनिवार राष्ट्रिय खेलाडीहरुको सहभागि रहेको आयोजक टिमसंग उपाधिका लागि प्रतिष्पर्धा गर्ने छ । फाइनल खेल दिउँसो २ वजे हुने छ ।
सृजनशील युवा क्लवले आयोजना गरेको सो प्रतियोगितामा विजेता टिमले १ लाख १ हजार १११, उपविजेता टिमले नगद रु. ५५ हजार ५५५ सहित मेडल ,ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने क्लवका सचिव विक्रम निरौलाले बताए ।
२६ पुसदेखि ३ माघसम्म चल्ने उक्त प्रतियोगितामा आयोजकसहित ८ वटा टिमले भाग लिएका छन् ।