विष्णुकठ्ठामा महिला फुटबल शुरु, उद्घाटन खेलमा आयोजक विजयी

दमक,२६ पुस । झापाको कमल गाउँपालिका -७ विष्णुकट्ठामा आजदेखि शुरु दोस्रो सृजनशील नकआउट महिला फुटबल प्रतियोगिता–२०८२ को पहिलो खेलमा आयोजक विजयी भएको छ ।
कमल -७ विष्णुकट्ठास्थित सिंहदेवी आधारभूत विद्यालयको खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक तर्फकी १५ नम्बरकी खेलाडी पूर्णिमा राईले १६ औ मिनेटमा विराट मेघा स्पोर्टस विराटनगर विरुद्ध लगाएको गोलनै निर्णायक बन्न पुगेको थियो । यो जित संगै आयोजक दोश्रो राउण्डमा प्रवेश गरेको छ ।उत्कृष्ट प्रदर्शनका कारण पूर्णिमा नै आजको खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

आयोजक संस्था सृजनशील युवा क्लवले आयोजना गरेको सो प्रतियोगितामा विजेता टिमले १ लाख १ हजार १११, उपविजेता टिमले नगद रु. ५५ हजार ५५५ सहित मेडल ,ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने दैनिक खेलमा उत्कृष्ठ हुने एक जना खेलाडी साथैं विधागत पुरस्कारअन्तर्गत उत्कृष्ट खेलाडीहरूलाई नगद रु. ५हजार सहित मेडल तथा ट्रफी प्रदान गरिने क्लवका सचिव विक्रम निरौलाले बताए । त्यस्तै, सर्वोत्कृष्ट एक जना खेलाडीलाई नगद रु. १० हजारसहित मेडल तथा ट्रफी प्रदान गरिने क्लवले जनाएको छ ।

क्लवका सचिव निरौलाका अनुसार प्रतियोगितामा आयोजकसहित भारत बाघडुग्राको जेपीएफसी, केचना फूटवल क्लव पथरी, भद्रपुर झापा फूटवल क्लव, विराट मेघा स्पोर्टस विराटनगर,टाँडी स्पोर्टिङ क्लव मोरङ,पशुपति स्कूल वोमेन्स फूटवल काकरभिटटा, वेलवारी फूटवल क्लव मोरङ र आयोजक गरि ८ वटा टिमले भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल ३ माघमा हुने छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितँम्ँ स्थानीय परिवर्तन युवा क्लव मुख्य प्रायोजक रहेको छ भने कमल गाउँपालिका, खेलप्रेमी तथा विभिन्न संघसंस्थाहरुबाट आर्थिक सहयोग प्राप्त हुने अपेक्षा गरिएको सचिव निरौलाले बताए । प्रतियोगिता अन्तर्गत भोलि २७ पुसको खेल भारत बाघडुग्राको जेपीएफसी र टाँडी स्पोर्टिङ क्लव मोरङ वीच हुने जनाइएको छ ।

क्लवका अध्यक्ष निसान लामिछानेको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले गरेकी थिइन् । उद्घाटन समारोहमा कमल ७ का वडाअध्यक्ष पृथीपति राई,कमल ६ का वडाअध्यक्ष नरेन्द्र भटटराई, नेपाली कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य रन्जित तामाङ, सगुन युवा क्लवका अध्यक्ष देवी आङदेम्बे, सिंहदेवी स्कूलका अध्यक्ष सन्तोष राई, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, खेलाडीहरु, खेलप्रेमीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.