पालिकाले दियो साक्फारावासीलाई एम्बुलेन्स

चुलाचुली,२६ पुस । इलामको दक्षिणवर्ती चुलाचुली गाउँपालिका ६ नम्बर वडा (साविक साक्फारा)बासीलाई लक्षित गर्दै गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
सो क्षेत्रमा पहिलो पटक एम्बुलेन्स सेवा स्थानीय सरकारले आफैं सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरी खरिद गरेको एम्बुलेन्स शुक्रबार साक्फारामा निशुल्क स्वास्थ्य शिविर समेत आयोजना गर्दै वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
सो एम्बुलेन्स वडाबासी ज्येष्ठ नागरिक र सुत्केरीका लागि निशुल्क सेवा दिनका लागि भएको र अन्य नागरिकहरुले भने गाउँपालिकाबाट तोकिएको सिमित शुल्क तिरेर उपयोग गर्न सक्ने जनाइएको छ ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ र उपाध्यक्ष दिलकुमारी लाओतीले संयुक्त रुपमा वडा नं ६ का वडाध्यक्ष दिलकुमार राईसहित वडाका जनप्रतिनिधिहरुलाई एम्बुलेन्सको साँचोसहित एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा अध्यक्ष केरुङले साक्फाराबासीको पुस्तौंदेखिको मानवीय स्वास्थ्यमा अतिआवश्यक सेवाका रुपमा रहेको एम्बुलेन्स सेवा सुचारु गराउन पाउँदा आफैंले फरक अनुभूति गरेको सुनाए ।उनले चुलाचुली गाउँपालिका सबै भुगोल, क्षेत्र, जातजाति , भाषाभाषी, धर्म, संस्कृतिको बिकासमा सन्तुलित रुपमा अघि बढेको बताउँदै चुलाचुलीबासी कसैले पनि पछुतो मान्नु नपर्ने गरि आफूले न्यायपूर्ण बिकासको नीति अवलम्बन गरेको उल्लेख गरे ।

गाउँपालिकाकी उपाध्यक्ष लाओतीले नागरिकहरुको सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारले संघ तथा प्रदेश सरकार, यस क्षेत्रका जनप्रतिनिधिहरुसँग समेत समन्वय र सहकार्य गर्दै यहाँको सन्तुलित र समुचित बिकासमा ध्यान दिएको बताइन् ।

वडा नं ६ का वडाध्यक्ष दिलकुमार राईको अध्यक्षतामा भएको एम्बुलेन्स हस्तान्तरण तथा स्वास्थ्य शिविर कार्यक्रममा सर्वसाधारणको सुगर, प्रेसर, ज्वरो आदिको जाँच गरि तत्काल रिपोर्ट उपलब्ध गराइएको छ भने ४० बर्ष माथिको उमेर समूहको खकार परीक्षणका लागि नमुना समेत सकंलन गरिएको छ । चुलाचुली गाउँपालिकामा विगतमा ४२ जना क्षयरोगका बिरामी भेटिएका र साक्फाराबासी समेत यसबाट पीडित रहेको पाइएकाले खकारको नमुना संकलन गरि परीक्षणका लागि ल्याबमा पठाइएको थियो । शिविरमा ७० जनाले स्वास्थ्य जाँच तथा निशुल्क औषधी सेवा लिएका जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.