कमल नगर अस्पतालमा मोबाइल स्वास्थ्य शिविरको तयारी पूरा

कमल,२४ पुस । झापाको कमल गाउँपालिका -३ क्याम्पास्थित कमल नगर अस्पतालमा भोलि २५ पुसमा हुने वृहत निशुल्क वास्थ्य शिविरको तयारी पूरा भएको छ ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण तथा अर्ध–शहरी समुदायलाई लक्षित गरी कोशी प्रदेश सरकारको महत्वकांक्षी कार्यक्रम “कोशी प्रदेश सरकारको घुम्ती अस्पताल” अन्तर्गत यस प्रदेशकै पहिलो मोबाइल घुम्ती अस्पताल स्वास्थ्य शिविरको सवै तयारी पूरा भएको अस्पतालले जनाएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता तथा स्वास्थ्य मन्त्री मान बहादुर लिम्बूको विशेष उपस्थिति रहनेछ ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राइले प्रदेश स्वास्थ्य निर्देसनालयको नेतृत्वमा स्वास्थ्य शिविरको तयारी सम्पन्न भई सकेको र यस शिविरबाट कमल गाउँपालिकाबासीले गुणस्तरिय स्वास्थ्य सेवा पाउने उल्लेख गरे । अध्यक्ष राईका अनुसार यस शिविरमार्फत स्थानीय नागरिकलाई घरआँगनमै निःशुल्क, गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइनेछ भने कमल नगर अस्पतालप्रति जनविश्वास थप मजबुत हुने छ ।

घुम्ती अस्पताल कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन कमल नगर अस्पतालमा विस्तृत समन्वय तथा तयारी बैठक सम्पन्न भई समग्र कार्ययोजना अनुसार सम्पूर्ण तयारी पूरा गरिएको अस्पताल प्रशासन प्रमुख दिपक दाहालले जनाएका छन् ।
तयारी सम्बन्धी आयोजित छलफलमा जनस्वास्थ्य प्रशासक (नवौँ) रमेश बराकोटी, अस्पताल नर्सिङ प्रशासक (नवौँ) आस्था थापा, जिल्ला स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठ, जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख बिनु थापा, कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावती, अस्पताल प्रमुख दिपक प्रसाद दाहालसहित चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कमल–२ का वडा अध्यक्ष अशोक सुब्बाका अनुसार यस सेवाबाट नसर्ने रोगको पहिचान तथा पचार सम्बन्धी प्रारम्भिक परामर्श पाउने छन् । साथै, शिविरमा क्षयरोग, फोक्सो तथा छातीसम्बन्धी रोगहरूको छिटो, प्रभावकारी र विश्वसनीय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
निःशुल्क उपलब्ध हुने स्वास्थ्य सेवाहरू
मोबाइल घुम्ती अस्पताल स्वास्थ्य शिविरमार्फत नसर्ने रोगको स्क्रिनिङ गरि वेलैमा स्वास्थ्य सचेतना दिने उद्देश्यले वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने छ । शिविरमा रक्तचाप जाँच,पिसाब परीक्षण,मधुमेह (सुगर) जाँच, थाइराइड जाँच,मुटु सम्बन्धी परीक्षण ,मुटुको भिडियो एक्स–रे र हाडजोर्नी सम्बन्धी विशेषज्ञ स्वास्थ्य परीक्षण तथा परामर्श उपलव्ध हुने कमल नगर अस्पतालका प्रमुख दाहालले बताए । सोहि शिविरमा स्वास्थ्य जाँचबाट औषधी सेवन गर्नुपर्ने विरामीहरुलाई आवश्यक औषधि निःशुल्क वितरण गरिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.