दमक ,१ पुस ।दमक तेक्वान्दो डोजाङले अन्तराष्ट्रिय पदक जितेका आफना खेलाडी आयुस धिमाललाई सम्मान गरेको छ । दमक -५ स्थित सर्वोदय अंग्रेजी बोर्डिङ स्कूलमा डोजाङले हालै एक कार्यक्रम गरि उनलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको हो । उनलाई डोजाङका सल्लाहकार संयोजक गजेन्द्र देवान ,अध्यक्ष जितु धिमाल लगायतले सम्मान गरेका थिए ।
नेपाल तेक्वान्दो संघ र कोरियाली राजदुताबासको संयुक्त आयोजनामा गत डिसेम्बर १ देखि ५ गतेसम्म काठमाण्डौंमा सम्पन्न १३ औं कोरियन एम्बसडर अन्तराष्ट्रिय तेक्वान्दो खुला प्रतियोगितामा धिमालले ५९ केजी वजन समूहबाट काँस्य पदक जितेका थिए । दमकको हिमालय मावि कक्षा ११ मा अध्ययनरत उनले डोजाङका प्रशिक्षार्थीहरुलाई तेक्वान्दोको प्रशिक्षण समेत गराउदै आएका छन् ।
सातदोवाटोस्थित तेक्वान्दो कर्भड हलमा भएको सो प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, वंगालादेश,श्रीलंका र भुटानका ३ सय बढी खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा डोजाङका १० जना खेलाडीले पुम्से र फाइटिङ गरि दुई विधामा प्रतिष्पर्धा गरेका अध्यक्ष धिमालले जानकारी दिए ।
सम्मान हस्तान्तरण कार्यक्रममा डोजाङकी प्रशिक्षकहरु प्रतिमा तामाङ र आयुस धिमाल, खेलाडीहरु, डोजाङका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
वर्षदिन अघि स्थापना भएको सो डोजाङले दमकका ५ वटा नीजि तथा सामुदायिक विद्यालयमा तेक्वान्दो खेल सम्बन्धी प्रशिक्षण सञ्चालन गर्देआएको छ ।