प्रहरी कार्यालयबाट लुटिएका बन्दुक र गोली फेला

दमक,२६ असोज । जेनजी आन्दोलनको क्रममा प्रहरीबाट लुटिएका बन्दुक र गोलीहरु बेवारिसे झापाका विभिन्न स्थानमा फेला पर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार शनिवार र आइतवार कमल गाउँपालिका र दमक नगरपालिकामा बन्दुक र गोली फेला परेको हो ।

शनिवार कमल गाउँपालिका वडा ५ रङ्गपुरमा एक किसानको खेतमा रहेको केराको बोटमुनि ५५ राउण्ड गोली फेला परेको छ । सेतोबोरामा शङ्कास्पद सामान देखेपछि स्थानीयले खोलेर हेर्दा गोली देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यसैगरी आइतवार बिहान प्रहरीले दमक -५ स्थित धनेश्वर मन्दिर नजिकै एउटा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ । एक थान ३०३ मार्क राइफल मन्दिरको गेट नजिकै फेला परेको खड्काले जानकारी दिए ।आन्दोलनको क्रममा लुटिएका उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
लुटिएका हातहतियार बुझाउन प्रहरीले बारम्बार सूचित गरिआएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले बताए । हराइरहेका हतियारहरु खोज्ने कार्य प्रहरीले गर्दै आएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.