काँग्रेसमा मङ्सिरमै महाधिवेशन हुनुपर्ने माग

धरान ,२५ असोज । बदलिएको राजनीतिक परिस्थितिमा नेपाली काँग्रेसमा विशेष अधिवेशन वा कार्यवाहक नेतृत्वको चर्चा चलिरहेको बेला सुनसरी–१ क्षेत्रीय समितिले पार्टीको वर्तमान केन्द्रीय समितिको पदावधि मङ्सिरमा सकिने भएकाले १५ औँ महाधिवेशनबाटै निर्णय गर्न माग गरेको छ ।

क्षेत्रीय समितिको शनिवार बसेको विशेष बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दे मंसिरमै महाधिबेशन गरिनु पर्ने निर्णय गरिएको सभापति सुजेन्द्र तामाङले बताएका छन् । उनका अनुसार काँग्रेसको विधान बमोजिम १४ औँ महाधिवेशनबाट आएका सबै तहका कार्यसमितिको ४ वर्षे कार्यकाल २०८२ मङ्सिरमा सकिदैछ ।
विधान अनुसार निर्धारित समयमा नियमित महाधिवेशन गरिए विशेष महाधिवेशन आवश्यक छैन । नियमित महाधिवेशन हुन नसक्ने परिस्थितिमा मात्र विधानको धारा १७ उपधारा ९२० बमोजिम विशेष महाधिवेशन नीति र नेतृत्व परिवर्तन गर्ने व्यवस्था रहेको उनले बताए ।

बैठकले जेन–जी पुस्ताले भ्रष्टाचारको अन्त्य र वाक स्वतन्त्रताको पक्षमा गरेको आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली र परिवारजनमा शोक समवेदना प्रकट गरेको छ । घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । ७६ जनाको ज्यान गएको घटनाको निष्पक्ष, सूक्ष्म छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।आन्दोलनमा घुसपैठ गरी भएको निजी तथा सरकारी सम्पत्ति, भौतिक संरचना तोडफोड, लुटपाट र आगजनी गर्नेहरूलाई कडा कारबाही गर्न माग गरेको छ ।

आन्दोलनको मुख्य माग भ्रष्टाचारको अन्त्य रहेकाले सार्वजनिक पदधारण गरेका सबैको सम्पत्ति छानबिनको माग गर्दै भ्रष्टाचारीलाई कडा कारबाही गर्न माग गरेको छ ।
बैठकले आन्दोलनका नाममा गैरजेन–जीहरुवाट तोडफोड र आगजनी भएको धरान–२ स्थित नेपाली काँग्रेसको पार्टी कार्यालय पार्टीका सदस्यहरूको सहयोगमा पुनर्निर्माण गर्ने निर्णय गर्दै सोका लागि स्वेच्छिक सहयोग गर्न अपिल समेत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published.