झापा, २१ असार । डेंगू संक्रमणबाट झापाको शिवसताक्षीमा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षीया छोरी सुरविरा राई रहेकी छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएका सुरविराको उपचारकै क्रममा शुक्रबार बिहान ८ः२५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
स्वास्थ्य कार्यालय झापाका डेंगू फोकल पर्सन युवनाथ बरालका अनुसार डेंगुका कारण यो वर्ष पहिलोपटक ती बालिकाको मृत्यु भएको हो । हाल जिल्लाका विभिन्न अस्पतालहरूमा ५५ जना संक्रमितको उपचार भइरहेको छ ।गत वर्ष डेंगुका कारण जिल्लामा दुई जनाको मृत्यु भएको थियो ।
बरालका अनुसार हाल बीएण्डसी अस्पतालमा ४८, दमकमा १ र गौरादहमा ६ जना गरी जम्मा ५५ जना डेंगू संक्रमित उपचाररत छन्। संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोड क्षेत्रका रहेको जनाइएको छ ।
मनसुन सुरु भएसँगै जिल्लामा डेंगु संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । डेंगु प्रायः असारदेखि असोज महिनासम्म बढी देखिए पनि झापामा भने वर्षैभरि संक्रमण देखिने गरेको बरालले बताए । डेंगू संक्रमण न्यूनीकरणका लागि सावधानी अपनाउन र समयमै चिकित्सकको परामर्श लिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण
नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ ।ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
हालसम्म कोभिड–१९ का दुई सय ४९ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट एक जनाको मृत्युसमेत भइसकेको छ ।