डेङ्गु सङ्क्रमणः यो वर्ष ६० हजारभन्दा बढीमा संक्रमण हुने आँकलन

झापा,१८ असार । यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि हुन सक्ने आँकलन गरिएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि हुने आँकलन गरिएको जानकारी दिए ।

डेङ्गु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिने सक्ने हुँदा सचेत रहन उनले आग्रह गरे । साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेङ्गु सङ्क्रमण बढ्ने उच्च जोखिम छ ।
७३ जिल्लाबाट १६ सयको हाराहारीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएकोछ । बिरामीमा लक्षण नदेखिने, डेङ्गु परीक्षण नहुँदा, परीक्षण भए पनि रिपोर्ट नदिने कारणले डेङ्गु सङ्क्रमणको तथ्याङ्क कम देखिएको उनको भनाइ छ । ४० देखि ८० प्रतिशत बिरामी उपचारको दायरामा नआउने गरेको उनले उल्लेख गरे ।

उनका अनुसार १० हजारको हाराहारीमा डेङ्गुका बिरामी समाजमा छन् । उनी भन्छन् ,“तथ्याङ्कमा डेङ्गु सङ्क्रमण कम देखिए पनि समाजमा १० हजारभन्दा बढी बिरामी उपचारको दायरामा नआएको हुँदा समाजमा डेङ्गु सङ्क्रमण फैलिने सम्भावना उच्च छ ।”
डा.दाहालले डेङ्गु बढ्ने अनुमान गरी कार्ययोजना तथा प्रदेशसँग समन्वय गरी डेङ्गु नियन्त्रण गर्ने तयारी गरेको बताए । यो आर्थिक वर्षका लागि डेङ्गु नियन्त्रण गर्न करिब १० करोड बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

उनका अनुसार डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि पाँच वर्षीय बहुनिकाय योजना तयार भई स्वीकृतिका लागि अन्तिम अवस्थामा छ ।डेङ्गुबाट हुने मृत्युको जोखिमलाई कम गर्न देशभरिका निजी तथा सरकारी अस्पतालका १७ सय बढी चिकित्सक तथा स्वास्थ्यकर्मी डेङ्गु रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा अभिमुखीकरण गरी अस्पताललाई तयारी अवस्थामा राखेको उनको दाबी छ ।

महाशाखाले डेङ्गु रोकथाम तथा नियन्त्रण गर्न लामखुट्टेको वासस्थान खोजी नष्ट गर्ने अभियानलाई चुस्त दुरुस्त बनाउने काम अगाडि बढाएको उनले जानकारी दिए ।
डा. दाहालका अनुसार डेङ्गु परीक्षणका लागि यो आर्थिक वर्षमा ५७ हजार किट प्रदेश तथा स्थानीय तहमा वितरण गरिसकेको छ । हाल ३० हजार किट प्रदेशमा पठाई सकिएको र २५ हजार किट स्वास्थ्य सेवा विभागमा मौज्दात रहेको उनको भनाइ छ । डेङ्गु नियन्त्रण गर्न व्यक्ति स्वयं पनि जिम्मेवार भएकाले डेङ्गु नियन्त्रण गर्ने उपाय अपनाउन उनले सबैलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published.