दमक, २० जेठ । । झापाको कमल गाउँपालिकामा करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको छ ।कमल गाँउपालिका वडा नं. ३ मा पर्ने रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गल क्षेत्रभित्र करेन्ट लागेर मृत्यु भएको अवस्थामा मङ्गलबार बिहान हात्ती भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
घटनास्थलमा हात्तीको एउटा दारा र सुँड डढेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बूले बताए । उनले हात्तीले फलामको बिजुलीको पोलमा धक्का दिँदा करेन्ट लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि जानकारी दिए ।
उनका अनुसार हात्तीको सुँड जलेर खरानी भएको छ । बिजुलीको पोलमुनी हात्ती डढेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।रतुवामाई वृक्षारोपण आयोजनाको यो बाटो भएर नियमित रुपमा हात्तीहरु हिँड्ने भए पनि यस प्रकारको घटना अहिलेसम्म नभएको जनाइएको छ । पानी परेका कारण विजुलीको पोलमा करेन्ट प्रवाह भएको हुनसक्ने र त्यहाँ आएर हात्तीले छोएका कारण यो घटना भएको बताइएको छ ।
यसैवीच, मृत फेला परेको हात्तीको आजनै पोष्टमार्टम गरि अन्त्येष्टि गरिएको बन कार्यालय झापाले जनाएको छ ।