दमक ,२५ बैशाख । दमकमा आयोजित आदिवासी जनजाति महोत्सवबाट रु ३ लाख बचत भएको छ ।महोत्सव आयोजक संस्था नेपाल अदिवासी जनजाति महासंघ समन्वय परिषद दमकले विहिबार पत्रकार सम्मेलन गरि महोत्सवबाट ३ लाख बचत गर्न सफल भएको जनाएको छ ।
महासंघका अध्यक्ष अम्बरवहादुर कुमालले महोत्सवमा आम्दानीतर्फ २७ लाख र खर्च २४ लाख भएको उल्लेख गरे । महोत्सवमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार महोत्सवमा दमक नगरपालिकाबाट १० लाख, प्रवेश शुल्कबाट १० लाख, आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानबाट २ लाख, विभिन्न दाताबाट रु ५० हजार संकलन भएको उल्लेख छ ।
त्यसैगरि, महोत्सव घेरावेरामा ६ लाख, स्टल निर्माणमा ३ लाख,साउण्डसिस्टममा १ लाख ५० हजार, मञ्च निर्माणमा १ लाख ५० हजार ,पर्चा पम्प्लेटमा २ लाख, कलाकार खर्च २ लाख, प्रचार खर्च १ लाख लगायतका काममा २४ लाख खर्च भएको अध्यक्ष कुमालले बताए । दमक ७ स्थित सयपत्री टोलमा गत चैत २१ गतेदेखि शुरु भई बैशाख ५ गतेसम्म आदिवासी जनजाति सांस्कृतिक महोत्सव आयोजना गरिएको थियो । महासंघले २०६८ सालमा पहिलोपटक दमकमा महोत्सव लगाएको थियो । त्यसपछि त्यो पछिल्लो महोत्सव दोश्रो संस्करण हो ।
दमक ७ का वडाअध्यक्ष भिमप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा महासंघ दमक नगरका पूर्व अध्यक्ष तथा सल्लाहकार मोहन धिमालले गत चैत २१ गतदेखि २०८२ साल वैशाख ५ गतेसम्म सञ्चालन भएको महोत्सवको बस्तुस्थितिलाई समेटेर तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
१५ दिन सम्म सञ्चालन गरिएको महोत्सवले यहाँका आदिवासी जनजातिहरुको पहिचान झल्काउने र स्थानीय पर्यटन प्रवद्र्धन तथा कला संस्कृति संरक्षणमा महत्वपूर्ण अवसर बनेको उनले उल्लेख गरे महोत्सवमा महासंघमा आवद्ध विभिन्न विभिन्न १२ वटा जातीय संस्थाहरुको सहभागिता रहेको उल्लेख गरिएको छ ।
कार्यक्रमको सञ्चालन महासंघकी सचिव समुन्द्रा लामाले गरेकी थिईन् भने विभिन्न जातिय संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथि रहेका वडाअध्यक्ष पौडेलले राजनीतिक आग्रह पूर्वाग्रह नराखी एकताबद्ध भएर जातीय पहिचान, भाषा लिपी र संस्कार , संस्कृति संरक्षणमा जुट्न सके पहिचान प्राप्त गर्न सकिने जोड दिएका थिए ।
तीन वटा टोललाई कुर्सी
सोहि अवसरमा महोत्सव स्थल वडाका स्थानीय बराह टोल, सयपत्री टोल र राधा माधव टोल गरि तीन वटा टोल बिकास संस्थालाई कार्यसञ्चालनमा सघाँउ पुरयाँउन १०÷१० थानका दरले कूल ३० थान प्लाष्टिकका कुर्सी हस्तान्तरण गरिएको थियो । ती कुर्सी पार्किङ शुल्कबाट प्राप्त रकमबाट खरिद गरि हस्तान्तरण गरिएको हो ।
राजवंशी नमुना घर उत्कृष्ठ
सोही अवसरमा महोत्सवमा सहभागी जातीय संस्थाहरु मध्ये उत्कृष्ट सजावट गर्ने तथा मौलिकता झल्काउने राजवंशी सेवा समाजसहित चार वटा नमुना घरका जातिय संस्थालाई पुरस्कृत गरियो ।
महोत्सवमा स्थापना गरिएका १२ वटा जातिय संस्थाका नमुना घरहरु मध्ये राजवंशीले तयार पारेका नमुना घर सवैभन्दा उत्कृष्ठ ठहरिएवापत १० हजार नगदबाट पुरस्कृत गरिएको थियो । सो पुरस्कार राजवंशी विकास समिति दमकका अध्यक्ष भरुवा राजनवंशीले ग्रहण गरे ।
त्यस्तै, रु ८ हजार नगद प्राप्त गरि माझी उत्थान संघ, ६ हजार नगदसहित कुमाल सेवा समाजको नमुना घर तेश्रो बन्न सफल भएको थियो । यसैगरि नेवा देय दबुलाई रु ४ हजार नगदसहित प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।