बिर्तामोड ,१३ बैशाख । एक पक्षको विरोधका बीच आज सम्पन्न जिल्ला सहकारी संघ झापाको निर्वाचनमा वहुसंख्यक पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् ।दलीय भागवण्डा अनुसारको सहमति नेकपा एमालेले उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले आजको निर्वाचनमा भाग लिएन् ।
विर्तामोडमा भएको संघको आठौँ सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रमबाट खुल्ला उपाध्यक्षमा नारायणप्रसाद भट्टराई विजयी भएका छन् । भट्टराई दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् । भट्टराईले ११९ मत प्राप्त गरि विजयी हुदाँ उनका प्रतिष्पर्धी अर्जुन दंगालले १७ र डिल्ली दाहालले १०६ मत प्राप्त गरेका थिए ।
त्यस्तै सचिव पदमा भवानीप्रसाद दंगाल (भानु) १५० मतसहित विजयी भए । उनका प्रतिद्वन्दी युवराज गिरीले ६७ मत मात्र प्राप्त गरेका थिए । अर्का उम्मेदवार लक्ष्मीप्रसाद बास्कोटाले शुक्रबार नै उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेका थिए ।
सहसचिव पदमा टसबहादुर श्रेष्ठले १७१ मत प्राप्त गरि विजय हासिल गरे । उनले विनोद ढकाललाई पराजित गरेका हुन् । ढकालले ५९ मत मात्र प्राप्त गरेका थिए ।
त्यस्तै खुल्ला सदस्य पदमा नारायण गौतम १६४, प्रेमसागर सापकोटा १३७ र काशीनाथ घिमिरे १३१ मतसहित विजयी भएको निर्वाचन समितिका संयोजक देवेन्द्र भण्डारीले जानकारी दिए ।
लेखा सुपरिवेक्षण समिति संयोजकमा चुडामणि ओझा १६३ मत प्राप्त गरि विजयी बन्दा उनका निकटतम प्रतिद्वन्दी खडानन्द गुरागाईले ६१ मत मात्र प्राप्त गरे ।क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्यमा ५१ मतसहित युवराज गौतम विजयी बने भने क्षेत्र नम्बर ५ को क्षेत्रीय सदस्यमा पदम लिम्बू लिङ्देन ६० मतसहित विजयी भए ।
त्यसैगरी अध्यक्ष पदमा प्रेमकुमार कोइराला, वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा, महिला उपाध्यक्षमा देवि निरौला बस्नेत, कोषाध्यक्षमा केशव बस्नेत निर्विरोध निर्वाचित भइसकेका छन् ।
खुल्ला महिला सदस्यहरु विन्दा कुमारी थापा, निलाकुमारी दाहाल, संगीता गजुरेल र पुष्पा अधिकारी चम्लागाई निर्विरोध निर्वाचित भएका छन् ।निर्विरोध निर्वाचित हुनेहरुमा क्षेत्र नम्बर १ मा देविमाया अधिकारी, ३ मा हरिकृष्ण अधिकारी र ४ मा तिलकप्रसाद सिंह राजवंशी छन् । त्यसै गरी मिलन आचार्य र राजेन्द्रप्रसाद रिजाल लेखा सुपरिवेक्षण समिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । ३१३ सदस्य रहको संघमा २४६ मत खसेको थियो ।