झापाको कमल–३ मा रेबिजको त्रास,धमाधम खोप लगाउदैं

दमक , ५ बैशाख । झापाको कमल गाउँपालिका–३, केर्खा क्षेत्रमा रेबिजको संक्रमणको संकेत देखिएपछि स्थानीय बासिन्दाहरु त्रसित भएका छन् । एक साताभित्र दुई वटा कुकुरको मरेपछि कुकुरको टोकाइबाट गाई, बाछा र केही व्यक्तिहरूमा समेत रेविजको जोखिम हुने देखिएकाले पनि त्यसक्षेत्रका बासिन्दाहरुमा त्रास फैलिएको हो ।
गाउँपालिकाले केर्खा बजार र केराधाप टोलमा संक्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाउँदै जनतालाई सावधानीका उपायहरू अवलम्बन गर्न अनुरोध गरेको छ ।

उक्त संक्रमित कुकुरले पत्रकार उमानाथ भण्डारीसहित दर्जनौं स्थानीयलाई टोकेको पुष्टि भएसँगै अहिले प्रभावित आंशकित ३२ जनालाई कमल नगर अस्पतालमा रेबिजविरुद्धको खोप लगाउने कार्य सुरु गरिएको अस्पतालका कार्यालय प्रमुख दिपकप्रसाद दाहालले बताए ।
उनले बुधबार र विहिबार अस्पतालमा आएर रेविज विरुद्धको तीन डोज खोप लगाउनेहरुको भिड देखिएको बताए । अस्पतालले सबैलाई निःशुल्क खोप उपलब्ध गराइएको छ । रेबिज खोप फोकल पर्सन बिनुता संग्रौलाले खोप आपूर्तिका लागि निरन्तर समन्वय भइरहेको जानकारी दिईन् ।

अस्पतालमा रेविज विरुद्धको खोपको माग उच्च हुदै गएपछि महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै थप आपूर्तिमा समन्वय भईरहेको उनको भनाई छ ।

पशुमा पनि निगरानी

पशु सेवा शाखाका प्रमुख दिपेन्द्र लामिछानेका अनुसार, कुकुरले टोकेको केही गाई–बाछा र चौपायामा रेबिजका लक्षण देखिन सक्ने भएकाले ती पशुहरूलाई निगरानीमा राख्न किसानलाई आग्रह गरिएको छ । पशुमा देखिएको संक्रमणले मानिसमा सर्ने सम्भावना हुने भएकाले थप सतर्कता अपनाउन निर्देशन दिइएको छ ।

छिमेकी पालिकाबाट पनि भीड
कमल गाउँपालिकाका बासिन्दा मात्र होइन, छिमेकी गौरादह र शिवसतासी नगरपालिकाका सेवाग्राहीहरू पनि खोप लिन कमल नगर अस्पताल आउने क्रम बढ्दो छ । यसले अस्पतालमा रेविज विरुद्धको खोप उपलव्धतामा समस्या आउन सक्ने अस्पतालका कार्यालय प्रमुख दाहालले बताए ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले रेबिज लागेको कुकुरबाट संक्रमण फैलिएको सूचना पाउन साथ संक्रमण थप फैलिन नदिन पहल थालिएको बताए । उनले रेविज विरुद्धको खोपको मात्रा आपूर्ति बढाएर जोखिज नियन्त्रणमा स्वास्थ्य प्राविधिक टोली परिचालन गरिएको बताए ।

खोप अभाव, भीड नियन्त्रण र निगरानी कार्यलाई एकैसाथ व्यवस्थापन गर्न लाग्नु पर्ने भन्दैं अध्यक्ष राईले भने, –‘रेविजको संक्रमण नियन्त्रणमा स्वास्थ्य शाखा, पशु सेवा शाखा र जनप्रतिनिधिबीच प्रभावकारी समन्वय बनेमात्र जतिछिटो संक्रमण नियन्त्रणमा आउने छ ’

Leave a Reply

Your email address will not be published.