दमक,२४ चैत । दमकबाट ठुलो परिणाममा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी रामधुनी -४ घर भई हाल दमक- ४ डेरा गरी बस्ने २६ वर्षीय विवेक माझी रहेका छन् ।
आइतवार दिउँसो २ः३० बजे लागूऔषध मुद्धामा पक्राउ परेका मानिसहरूलाई सोधपुछका क्रममा खुल्न आएपछि इलाका प्रहरी कार्यालय उर्लाबारी र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले ट्रामाडोल ९१८ पत्ता (९,१८० गोटी), स्पास्टिन १६५७ पत्ता (१६,५०० क्याप्सुल) र नगद रू.२ लाख ८९ हजारसहित फेला पारी माझीलाई नियन्त्रणमा लिएको हो ।
बरामद प्रतिबन्धित औषधि र नगदसहित माझीलाई आवश्यक कार्वाहीको लागि इप्रका दमकलाई बुझाएको जनाइएको छ ।
मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने पक्राउ
भारतबाट मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउँदै गरेका बिर्तामोडका एक युवक पक्राउ परेका छन् ।आज दिउँसो २ः४५ बजे भद्रपुर नगरपालिका –५ मेची बिटबाट खटिएको प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भद्रपुरतर्फ आउँदै गरेको पैदल यात्री बिर्तामोड नगरपालिका–६ सरस्वती टोल बस्ने ३० वर्षीय सन्तोष भट्टराईलाई पक्राउ गरेको हो । उनले मलद्वारभित्र प्लाष्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको १० ग्राम २१०मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जनाइएको छ ।