झापा, २३ चैत । मोटरसाइकल दुर्घटनामा परी मोरङमा एक दम्पतीको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा श्रीमान–श्रीमतीको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई नगरपालिका–१ कल्याणपुरका सोम टुडू र पछाडि सवार उनकी श्रीमती वामनी हेमरमको मृत्यु भएको लम्सालले बताए । लम्सालका अनुसार राति १०ः१० बजेतिर आमबारीबाट उर्लाबारीतर्फ आउँदै गरेको को ९ प ७२९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका दम्पतीलाई स्थानीयले उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल पठाएका थिए ।
उनीहरुको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।
कारको ठक्करबाट स्कुटी चालक घाइते
इलामको रोङमा कारको ठक्करबाट स्कुटी चालक घाइते भएका छन् । गएराति ८ः३० बजे रोङ वडा नं. ३ शिवालय चौकस्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जाँदै गरेको मे ११ प ४२१७ नं.को स्कुटीलाई सोही दिशाबाट जाँदै गरेको डब्लुबी ७७ बी ०४०५ नम्बरको कारले साईड दिने क्रममा ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटी चालक रोङ वडा न.४ बाघखोर बस्ने ४५ वर्षीय लोकबहादुर राई घाइते भएका छन् ।
घाइतेलाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोड ल्याइएको छ । स्कुटी, कार र कार चालक भारत पश्चिम बंगाल लिम्सेबुङ –७ बस्ने ३७ वर्षीय बिमल भट्टराईलाई प्रहरी चौकी हर्कटेले नियन्त्रणमा लिएको छ ।
बाटोबाट लडेर मगरको मृत्यु
तेह्रथुम लालीगुराँस नगरपालिका वडा न.७ च्याक्चे गाउँ बस्ने ४० वर्षीय बमबहादुर थापामगरको बाटोबाट लडेर मृत्यु भएको छ । चैत १७ गते बिहान ११.२५ बजे गाउँबाट घर फर्कने क्रममा ढुंगा तारजाली भएको बाटोमा अचानक लडेर उनी अन्दाजी २० मिटर तल झरेका थिए । घाइते मगरको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेकोमा आज बिहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।