ताप्लेजुङ ,१५ चैत । ‘नो केबलकार’ समूहबाट गठित उच्च स्तरीय वार्ता टोलीका संयोजक खगेन्द्र फेम्बो, श्रीप्रसाद लिम्बूसहित पाँच जना धरौटी तारेखमा छुटेका छन् । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश विकास श्रेष्ठको इजलासले शुक्रबार उनीहरूलाई धरौटीमा छोड्ने आदेश दिएको हो ।
फरार प्रतिवादी सूचीमा रहेका उनीहरू शुक्रबार अदालतमा हाजिर भएका थिए । निवेदनसहित उपस्थित भएका उनीहरूको बयान, थुनछेक बहसपछि आदेश आएको हो । धरौटीमा छुटेकाहरूमा फेम्बो, लिम्बू, पूर्णबहादुर पालुङ्वा, रोशन कङ्लिवा -सरोज, मुक्साम लिम्बू रहेको अदालतका स्रेस्तेदार मनोज बरालले जानकारी दिए । उनीहरू विरुद्ध आपराधिक उपद्रव तथा हुलदङ्गा शीर्षकमा मुद्दा दर्ता भएको थियो ।
काफ्लेपाटीमा निर्माणाधीन केबलकार बटम स्टेसन र वीरेन्द्रचोकमा भएको राँके जुलुस घटनाको नेतृत्व गरेको बयान यसअघि पक्राउ परेका १८ जनाले दिएका थिए ।
उनीहरूको बयानका आधारमा पक्राउ परेका बाहेक नौ जनालाई प्रतिवादी बनाइएको थियो । चार जना अझै फरार प्रतिवादीको सूचीमा छन् । उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी रहेको अदालतले जनाएको छ । यसअघि धरौटी तारिखमा छुटेका १८ सहित शुक्रबार छुटेका ५ जनालाई चैत २१ गते अदालतमा उपस्थित हुन तारिख दिएको अदालतले जनाएको छ ।
स्रेस्तेदार बरालका अनुसार मुद्दा शीर्षक एउटै भए पनि भूमिकाका आधारमा धरौटी र सजाय निर्धारण फरक हुन सक्ने बताए । अदालतले धरौटी रकम भने सबैलाई समान तोकेको छ । मुद्दाको अन्तिम फैसला हुन बाँकी छ ।
गत फागुन ८ गते काफ्लेपाटी नजिक केबलकार बटम स्टेसनमा झडप भएको थियो । फागुन १० गते बेलुकी वीरेन्द्रचोकमा राँके जुलुस निकालिएको थियो । राँके जुलुसका क्रममा पनि सुरक्षाकर्मी र ‘नो केबलकार’ समूहबीच झडप भएको थियो । सोही घटनामा संलग्न भएको भन्दै प्रहरीले मुद्दा चलाएको हो ।