सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार !

म बिगत २०५३ साल देखि शिक्षण कार्यमा संलग्न छु । हाल म तपाईंको निर्वाचन क्षेत्रमा रहेको श्री नरेन्द्र जनता माध्यमिक विद्यालय कमल १ झापाको प्रधानाध्यापकको भूमिकामा रहेको छु । यो बिद्यालयको म पूर्व विद्यार्थी पनि भएकाले मलाई यो जिम्मेवारीप्रति गर्व छ ।
भर्खरै मात्र तपाइँले एसईइ नतिजा र शिक्षकको सेवा सुबिधाको तुलना गरेर दिनु भएको अभिव्यक्तिले उत्साहका साथ काम गरिरहेका शिक्षकहरुलाई निरुत्साहित बनाएको छ जसले नतिजा सुधारमा गम्भीर असर पर्ने देखिन्छ ।

 


आदरणीय प्रधानमन्त्रीज्यू,
म नेपाल सरकारले उपलब्ध गराएको तलब भत्ता खाने शिक्षक र प्र.अ. भएको नाताले नेपाल सरकारको कार्य सम्पादन लगायतका बिषयमा बोल्न चाहन्न् ।
मेरो मुख्य कर्तव्य भनेको बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने र सिकाइ उपलव्धी सुधार गर्ने हो।यसका लागि तपसिलका बिषयहरुको समुचित ब्यवस्थापन सरकारले गरिदिए म शत प्रतिशत नतिजा निकाल्ने कार्य सम्पादन सम्झौता गर्न तत्पर छु। नसके खुशी साथ शिक्षण पेशाबाट बिदा लिने प्रतिबद्धता ब्यक्त गर्दछु।
तपसिल
१) बिपन्न परिवारका अभिभावक बिहानै रोजिरोटीका लागि जाँदा भोकै आउने विद्यार्थीलाई खानाको प्रबन्ध गर्न बजेट उपलब्ध गराइयोस।
२) बिद्यालयले विभिन्न प्रयोजनका लागि अभिभावक बोलाउँदा त्यो दिन काम गर्न नजादा बेलुका चुल्हो नबल्ने अभिभावकहरुको लागि हाजिरी राहत रकमको ब्यवस्था गरिओस।
३) समयमा बिद्यालय पोसाक किन्न र सिलाइ दिन नसक्ने अभिभावकका बालबालिकाहरुलाई पोसाकको ब्यवस्था गरियोस।
४) बाल मैत्री कक्षा कोठा,फर्निचरको ब्यवस्था पर्याप्त गरियोस।
५) दस फिट उचाइ र टिनको छानो भएका कक्षाकोठाहरु बिस्थापन गरेर आधुनिक कक्षा कोठा बनाइयोस् ।
६) १५ रुपैयाको खाजा बसेर खाना पाउने चमेनागृह बनाइयोस्।
७) पर्याप्त खेलकुदका सामग्री उपलब्ध गराइयोस।
८) बिद्युतको महसुल निशुल्क गरियोस।
९) शुद्ध पिउने पानी र सफा शौचालय निर्माण गरियोस।
१०) शिक्षकलाई हरेक वर्ष बिषयगत पुनर्ताजगी तालिमको ब्यवस्था गरियोस।
११) हरेक शिक्षक एक ल्यापटपको ब्यवस्था गरियोस।
१२) सबै कक्षालाई आधुनिक प्रबिधी मैत्री बनाइयोस।
१३) समयनुकुल शिक्षकलाइ सुबिधा वृद्धि गरेर बिद्यालय खुल्ने दिन बढाइयोस।
१४) फेसबुक लगायत सामाजिक सन्जालको आइ डि खोल्न अनिवार्य नागरिकता नम्बर अपलोड गर्ने ब्यवस्था गरि एक ब्यक्ती एक आइ डि चल्ने ब्यवस्था गरियोस ताकी १६ वर्ष मुनिका बालबालिका सामाजिक सन्जालको कुप्रभावको भुमरिबाट बचाउन सकियोस।
१५) सिकाइ सङ्ग सम्बन्धित मात्रै साइटहरु हेर्न मिल्ने एपहरुको बिकास गरि विद्यार्थीलाई र शिक्षकलाइ निशुल्क ईन्टरनेट सुबिधा दिइयोस।
१६)प्र.अ. र शिक्षकहरुको १०–४ वजे सामाजिक सञ्जाल लक हुने ब्यवस्था र अभिभावकको बेलुका ६–९ समय लक हुने ब्यवस्था गरियोस् ।
१७) मसलन्द र उपचरात्मक कक्षाका लागि यथेष्ट रकम दिइयोस ।
१९) हालको पाठ्यक्रममा समाबेश गणित,बिज्ञान बिषयलाई व्यवहारिक गणित र व्यवहारिक बिज्ञानको रुपमा सिकाइका क्षेत्र र आयतन घटाइ कक्षा ८ बाट अनिवार्य र ऐच्छिक बिषय गणित बिज्ञान पढ्न पाउने गरि परिमार्जन गरियोस ताकी कक्षा १० पछि गणित बिज्ञान लगायत प्राबिधिक बिषय नपढ्नेहरुको लागि आजको जस्तो यी बिषय हाउगुजी र बेकामे नबनोस् ।
२०) बिद्यालयमा एकै प्रकृतिका शिक्षक रहने ब्यवस्था गरि बिरामी हुदा निशुल्क उपचार गर्ने र शिक्षकका सन्तानको क्षमता अनुसार उच्च शिक्षा हासिल गर्न छात्रवृत्तिको ब्यवस्था गरियोस।
२१) प्रत्येक ५-५ वर्षमा स्थानीय तहले बिषयगत दरवन्दी मिलान गरि स्थानीय तहभित्र शिक्षक अनिवार्य काज सरुवा गर्ने ब्यवस्था गरियोस।
२२) एक बिद्यालयमा दुई कार्यकाल अर्थात १० वर्ष भन्दा बढी एउटा शिक्षक प्र.अ. रहि नरहने ब्यवस्था गरियोस।
उपरोक्त कुराहरुको ब्यवस्था भएपछि पनि आफ्नो बिषयमा ८०% भन्दा कम नतिजा निकाल्ने शिक्षकलाइ उचित कार्वाहिको ब्यवस्था गरियोस र प्रधानाध्यापकलाई जिम्मेवारीमुक्त गरियोस।
आशा छ ,नेपालको सामुदायिक शिक्षाको बिकासका लागि माथिका बिषयहरु सम्बोधन हुने गरि आगामी बजेटको व्यवस्थापन गर्नुहुनेछ र शिक्षा सुधारको प्रस्थान बिन्दु तपाइको कार्यकालबाट शुरु भई तपाइको नाम नेपालको शैक्षिक इतिहासमा स्वर्ण अक्षरमा लेखिनेछ ।
उहीँ तपाइको शुभेच्छुक
बद्री कार्की,झापा

Leave a Reply

Your email address will not be published.