अपाङगता भएकाहरु आयआर्जनमा जोडिदैं

–बिष्णु सुब्बा
दमक,१४ माघ । झापा, कमल गाउँपालिका वडा न. ५ मंगलवारेका ४१ बर्षिय पिताम्बर खड्का शारीरिक रुपमा हिंडडुल गर्न सक्दैनन् । शारीरिक अपाङगताका बाबजुद खड्का अहिले भने स्वरोजगार बन्न थालेका छन् ।
सानै उमेरमा एउटा खुट्टामा आएको शारीरिक अस्वस्थ्यताका कारण उनी सवालङग सरह हिड्डुल गर्न नसक्दा उनले आफ्नो निजी कमाई गर्न सक्ने सम्भावनानै थिएन् ।
आफ्नै निजी कमाई नहुँदा दैनिक जीवनयापनका लागि चाहिने आधारभूत आवश्यकताहरु समेत पूरा गर्न सक्दैन थिए ।
संगैका साथीभाई पैसा कमाउने र आ–आफनो बन्दोबस्ती गर्ने तर्फ लागेको देख्दा आफू पनि उस्तै गरि आयआर्जनमा जोडिने इच्छा हुन्थ्यो । उनी र उनी जस्ता धेरैको त्यो इच्छा पूरा गर्न कमल अपाङगता समितिको संस्थागत प्रयत्नले अहिले मूर्तरुप लिँदै गएको छ ।
समितिले अहिले कमल अग्र्यानिक साबुन उत्पादन गरिरहेको छ । कमल गाउँपालिका वडा नम्बर २ तोपगाछी र कमल गाँउपालिका ६ लखनपुरमा लघु उद्यमका रुपमा यस्तो उद्यम सञ्चालनमा छ ।
कमल गाउँपालिकाले बर्ष दिन अघि मात्रै कमल अपाङगता समितिसँगको समन्वयमा अपाङगता भएकाहरुलाई साबुन, हर्पिक, फिनेल जस्ता सामग्री बनाउने सीप सिकाउने व्यवस्था गरेको थियो । त्यही तालिमबाट पालिकाले उद्यमशीलताका लागि रु ३० हजारको बिउ पुँजी समेत प्रदान गरेको र त्यसैबाट करिव १५ जना अपाङगता भएकाहरुले व्यवसायिक रुपमा यस किसिमको उद्यममा आर्कषित भएको कमल अपाङगता समितिका अध्यक्ष पिताम्बर खड्का बताउँछन् ।
हामी आफैं के कस्तो आयआर्जनमा लाग्ने ? कसरी उद्यमी बन्ने होला भन्ने अन्योलमा थियौं । गाउँपालिकाले सो सम्बन्धीको १५ दिने आधारभूत तालिम दिएपछि उद्यम तर्फ आर्कषित हुदै आएको र यसैलाई उद्यम बनाउन जुटेको उनको भनाई छ । उनी भन्छन् ,–‘यो लघु उद्यमले थोरै पनि हामी जस्ता लक्षित समुदायलाई आयआर्जनसंग जोडिन टेवा पुगेको छ ,अपाङगता भएका व्यक्तिलाई हेर्ने दृष्ट्रिकोण समेत फेरिदै गएको छ । ’ उनका अनुसार संस्थागत रुपमा अपाङगताले तयार गरेका सावुन,हर्पिक ,फिनेल लगायतका घरायसी सामाग्रीहरु कमल भित्रका पसल तथा हाटवजारसम्म पुरयाँउन थालिएको छ ।
उपभोक्ताहरुले समेत आफना उत्पादित सामाग्रीको गुणस्तरका कारण वजारमा माग समेत बढ्न थालेको खड्का बताउँछन् । गाउँघरमा पाईने तुलसी,निमपाती लगायतका प्राकृतिक जडिबुटिहरुलाई संकलन गरि सावुन तयार गरिआएको र यसैलाई ब्राण्डिङका रुपमा विकास गर्न आफूहरु जुट्दै आएको उनले बताए ।
कमल अपाङगता समितिका सचिव कमल ६ निवासी लंकबहादुर खड्का पनि सहजै हिड्डुल गर्न सक्दैनन । आर्थिक अवस्था कमजोर भएका खड्काको अपाङगता कारण आफनो क्षमता भएपनि समाजले सजिलै स्वीकार गर्न सकेको थिएन् । तर ,पछिल्ला वर्ष उनी घरायसी जोहो गर्न निकै गाहे भएपनि हातको सहाराले विद्युतीय सिटीसफारी चलाउदैआएका छन् । सिटी सफारी चलाउदाँ आफनो शारीरिक अपाङगताका कारण धेरै यात्रुहरु चढ्न आनाकानी गर्ने गरेको उनको गुनासो छ ।
सिटीसफारी चलाउदै उनी स्वरोजगारका लागि अहिले कमल अर्गानिक सावुन लघु उद्यममा जोडिएका छन् । यस उद्यमले अपाङगता भएकाहरुले पनि यहि समाजमा आयआर्जन जोडिन सक्ने छन् भन्ने प्रेरणा मिलेको उनको भनाई छ ।
परिश्रमी क्षमताका ४४ बर्षिय खड्काले स्थानीय सरकारदेखि अपाङगताका क्षेत्रमा काम गर्देआएको संघसंस्थाहरुबाट प्राप्त सहयोगका कारण आफूहरुलाई जिबिकोपार्जनको विभिन्न क्षेत्रमा स्वरोजगार बन्न हौसला मिलेको बताउँछन् । अपाङगता भएकाहरुले विशेषत दैनिक उपभोग्य पाईने किराना पसल, अगरवत्ती, कुचो , नरिवलको झाँडु ,हर्पिक ,फिनेल तथा सावुन लगायतका घरायसी समानको व्यवसायिक उत्पादन , बेचबिखन गरिआएका छन् । आधा दर्जन जति त्यस्ता व्यक्तिले सिटी सफारीलाई पुर्ननिर्माण गरि विद्युतीय सिटीसफारी कुदाएर मनग्यै कमाई समेत गरिआएका छन् ।
यसैगरि, अपाङ्गता भएका व्यक्तिहरूलाई प्राप्त हुने विभिन्न किसिमका सहायक सामग्रीहरु आफै फिटिङ गरि आउने गरेको उनको भनाई छ । उनी भन्छन् , ‘हामी जस्ता अपाङगताहरु यस पालिकामा सुतेर बस्नुपर्ने अवस्था छैन्, थोरै मेहनेत गर्न सके सानोतिनो आम्दानी गर्न गाउँघरमानै प्रशस्तै अवसर सृजना हुदै गएको छ ’
यता दमक नगरपालिकामा पनि अपाङगता भएकाहरुले विभिन्न उद्यम सञ्चालन गरेर स्वरोजगार बन्दै गएको स्वम उनीहरुनै बताउँछन् । पछिल्ला समय यस्ता लक्षित व्यक्तिहरु अहिले आर्थिक रुपमा सबल बन्न विभिन्न उद्यमशीलतामा जोडिदै आएको दमक –९ की अपाङगताहरुको अधिकारका क्षेत्रमा काम गर्देआएकी पार्वता श्रेष्ठले बताइन् । राष्ट्रिय अपाङ महासंघ नेपाल कोशी प्रदेशकी पूर्व अध्यक्ष समेत रहेकी श्रेष्ठले अपाङगता भएकालाई स्वरोजगार बनाउन आफूले उद्यमशील अपाङगता होजियारी लघु उद्योग दुई वर्षदेखि सञ्चालनमा ल्याएको र अहिले एक दर्जनले स्वरोजगार बन्ने अवसर पाएको बताउँछिन् । दमक -८ मा रहेको यस होजियारीमा सवै अपाङगता भएकाहरुले काम गरिआएका छन् ।
दमक ६ मा तीन दशक बढी देखि ढुङगाको सिलौटा ,जातोको उद्यम गरिआएका मुकेश सन्तराज अपाङगता भएका व्यक्तिहरुका लागि उदाहरणीय बनेका छन् । मुकेश शिलालेख खोलेर ढुङगाको सिलौटा,जातो लगायतका सामाग्रीहरु तयार गरिआएका उनले आफू मात्र नभएर ५ जनालाई रोजगारी समेत दिदैआएका छन् । पारिवारिक पेशा सम्हालेका उनी सवालङ सरह हिड्डुल गर्न नसकेपनि निकै कष्टपूर्ण रुपले व्यवसायिक बनेर यहि शिलालेखबाट मनग्यै कमाई गरिआएका छन् । सिंगो परिवार यहि शिलालेखमा निर्भर रहेका र यसैवाट दमक –७ सयपत्री टोलमा घरजम गरि व्यवसायलाई निरन्तरता दिदैआएका छन । उनी भन्छन् , –‘ हामी अपाङगता भएकालाई दया, माया होइन अवसर दिए अरुसंगै प्रतिष्पर्धा गर्न सक्छौ भन्ने हिम्मत छ । ’
पछिल्लो सार्वजनिक तथ्यांक अनुसार झापाका १५ वटै पालिकामा करिव २३ हजार नौ सय ८८ संख्यामा अपाङ्गता भएका व्यक्तिहरु छन् ।
अपाङगता भएकाहरु संगठित भएर आफनो सामाजिक दायित्व निर्वाह गरिआएपनि व्यवसायिक रुपले आयआर्जनमा जोडिएका खासै पाईदैन् । शारीरिक अवस्था, अपाङगताले तयार गरेका उत्पादित बस्तुले वजार पाउन निकै ठुलो प्रतिष्पर्धा गर्नुपर्ने हुदाँ पनि उद्यमशील बन्न समस्या हुदैआएको राष्ट्रिय अपाङ महासंघ नेपाल कोशी प्रदेशका संयोजक मदन कुमार बोहोरा बताउँछन् । स्वदेश मात्र नभएर विदेशबाट आयात गरिएका उपभोग्य बस्तुसंग हाम्रा यस्ता लघु उद्यमबाट तयार गरिएका बस्तुलाई वजार पाउन नसकिने र विस्तारै उद्यमनै बन्द गर्नुपर्ने अवस्था देखिएको बोहोरा बताउँछन् ।
उनी भन्छन् , –‘अपाङगता भएका व्यक्तिलाई तीनै तहको सरकारले सहयोग गरिआएपनि नीतिगत रुपमा नै अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सुनिश्चितता नभएसम्म लक्षित समुदाय सबल हुन निकै चुनौती छ, राज्यले यसमा ध्यान दिनुपर्छ ।’
कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले अपाङगता भएकाहरुलाई संगठित संगै आयआर्जनको पाटोमा जोड्न स्थानीय सरकारले विभिन्न उद्यमशील क्षेत्रमा प्रोत्साहित गरिआएको बताउँछन् । अपाङगता भएका व्यक्तिहरु विस्तारै अहिले समाजसंग जोडिन थालेका छन्, यसले समाज रुपान्तरणमा सहयोग पुग्ने उनको धारणा छ । कमलमा त्यस्ता लक्षित समुदायले लघु उद्यमका विभिन्न पेशा अंगाल्न थालेको उल्लेख गर्दे उनले भने , –‘समाजमा वहिष्कृत गरिएका यस्ता समुदायलाई आर्थिक रुपमा शसक्तीकरण गर्न तथा उद्यमशीलता बनाउन स्थानीय सरकारले विभिन्न पाटोमा सहयोग पुरयाँउदैआएको छ ।’
अपाङ्गता भएका व्यक्तिहरुको बाँच्न पाउने अधिकार प्राप्तिका लागि कोशी प्रदेश सरकारले करुणा फाउण्डेशनको सहकार्यमा झापा जिल्लासहित ताप्लेजुङ र तेह्रथुमका ३० वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा छ । सो कार्यक्रममा जिल्लाका स्थानीय तहहरुमा त्यस्ता व्यक्तिको आवश्यकता पहिचान र परिचय पत्र वितरणदेखि प्रत्येक वडासम्म अप्थाल्मोलोजिस्ट-अप्थाल्मो टेक्निसियन(आँखा जाँच गर्न), अडियोलोजिष्ट-अडियमेट्रिस्ट (कान जाँच गर्ने), फिजियोथेरापिस्ट, क्लिनिकल साईकोलोजिस्टलगायतका प्राविधिकहरुमार्फत स्वास्थ्य परीक्षणसँगै उनीहरुलाई आवश्यक सहायक सामग्रीको नापजाँचलगायत अन्य आवश्यकताहरुको पहिचानसमेत गर्ने व्यवस्था गरिआएको छ ।

 

 

Leave a Reply

Your email address will not be published.