झापा,१४ माघ । मुकुमलुङ बचाओ संघर्ष समितिले मुकुम्लुङ संघर्ष समिति तथा स्थानीयमाथि गोली चलाएको विरुद्ध माघ १५ गतेदेखि अनिश्चितकालीन बन्द आह्वान गरेको जनाएको छ ।
संघर्ष समितिका पाँच घटकले संयुक्त बिज्ञप्ति जारी गर्दै अनिश्चितकालिन बन्दको आह्वान गरिएको छ । जारी विज्ञप्तिमा मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बू, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बु, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समितिका संयोजक प्रेम येक्तेन, प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका संयोजक नन्द कन्दङवा र लिम्बू थरगत संस्था (याक्थुङ संयङ) सहजीकरण समूहले हस्ताक्षर गरिएको छ ।
बिज्ञप्तिमा भनिएको छ, –‘सशस्त्र प्रहरीले मुक्कुमलुङ संरक्षणकारी योद्धाहरूमाथि २०८१ माघ १२ गते साँझ खाना खाइरहेको अवस्थामा बर्बर दमन गर्दै निर्मम गोली चलाएको , थुप्रैलाई कुटपिट गरि घाइते बनाएको र लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बूलाई ताप्लेजुङ प्रहरी हिरासतमा राखेको र कतिपय घाइतेहरू सम्पर्कमा आउन नसकेकाले राज्यको यो दमनको कडा निन्दा गर्दछौं ।’
प्रहरीको गोली लागेर संघर्ष समितिका याम बहादुर लिम्बू, सगुन लावती, धर्मेन पालुङ्वा, मंगल लावती घाइते बनाएको भन्दै दलाल माफिया पूँजीपती चन्द्र ढकालको निजि सिडिओ र डिएसपीको रूपमा मात्रै भुमिका निर्वाह गरेको आरोप लगाउदै मुक्कुमलुङ प्रेमीहरूलाई गोली हान्न आदेश दिने ताप्लेजुङका सिडिओ र सशस्त्र प्रहरीका डिएसपीले सार्वजनिक रूपमा माफी माग्नु पर्ने विज्ञप्तिमा उल्लेख छ । शान्तिपूर्ण प्रदर्शनमा भेला भएका समूहमाथि गोलीसम्म चलाएर राज्य आतंक मच्याएको विरोधमा अनिश्चितकालिन बन्द आहृवान गर्न बाँध्य हुनुपरेको उल्लेख छ । बन्दका कारण यात्रु तथा सर्वसाधारणहरुलाई पर्न जाने असुविधालाई मनन गरि बन्दप्रति ऐक्यवद्धता जनाईदिन समेत अपिल गरिएको छ ।
यसैबीच माघ १४ गते केवरकारका सञ्चालक भनिएका ढकाल आबद्ध ग्लोबल आइएमई बैक अगाडि देशैभरि शान्तिपूर्ण धर्नाको कार्यक्रम समेत आयोजना गरिएको छ ।
ताप्लेजुङ घटनाको प्रदेश सांसदद्धारा विरोध
२१ प्रहरी र चार आन्दोलनकारी घाइते भएको ताप्लेजुङ घटनाले कोशी प्रदेशसभामा प्रवेश पाएको छ । सांसदहरूले आइतबारको बैठकमा उक्त घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन् । विपक्षी माओवादी, एकीकृत समाजवादी मात्र होइन, सत्तारुढले नै पहिचानको आन्दोलन र स्थानीय संस्कृतिको संरक्षण गर्न माग गरेका हुन् ।
माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अलोकतान्त्रिक र निरंकुश ढंगबाट नागरिकमाथि दमन र नागरिक आवाजमाथि बन्देज लगाउन सशस्त्र फौज उतारिएको दाबी गरे । पवित्र धार्मिक तथा सांस्कृतिक क्षेत्रमा भइरहेको घटनाप्रति उनले दुःख व्यक्त गरे ।
‘विकास होस् वा व्यापार होस् नागरिक र स्थानीय समुदायको सरोकारको विषय पर्छ । मुक्कुमलुङ क्षेत्र व्यापारिक प्रयोजनमा दिँदा स्थानीयको भावनामाथि ठूलो चोट पुगेको छ,’ आङ्बोले संसदमा विशेष समय लिएर भने, ‘त्यसको विरोध गर्दा ठूलो राज्य आतंक सिर्जना गरिएको छ र दमन गरिएको छ । सर्वप्रथम म यो राज्य आतंक र दमनको घोर भत्र्सना गर्दछु ।’
उनले एक व्यापारी रिझाउन जनतालाई गोली चलाउने र जनता ‘मार्ने’ काम सरकारबाट भएको भन्दै यस्तो कार्य तुरुन्त बन्द गर्न आग्रह गरे । ‘निर्माण कार्यलाई तत्काल रोकेर, त्यहाँ भएका सशस्त्र फौजलाई फिर्ता गरेर शान्तिपूर्ण वातावरण तयार गर्नुपर्छ,’ आङ्बोले भने, ‘शान्तिपूर्ण वातावरण बनाई वार्ता र संवाद गरेर बाँकी काम अगाडि बढाउन प्रदेश र संघीय सरकारलाई विषेश अनुरोध गर्न चाहन्छु ।’
एकीकृत समाजवादीका सांसद कमलप्रसाद जबेगूले प्रहरीले ७६ वर्षे वृद्धलाई पनि आक्रमण गरेको भन्दै आक्रोश व्यक्त गरे । ‘हिजो दिनभरिको संघर्षपछि खाना खाने बेलामा आक्रमण गर्ने, कुटपिट गर्ने, ७६ वर्षे वृद्धलाई पनि आक्रमण गर्ने र त्यसै बखत गोली हानिएको छ,’ उनले विशेष समयमा भने, ‘चार जनालाई गोली लागेको छ । सरकारले चाहिँ सधैँ लडाइ नै गर्ने हो कि निमुखा जनतामाथि गोली नै प्रहार गर्ने हो कि, सेना नै उतार्ने हो कि ?’
उनले संघ र प्रदेश सरकार व्यापारीको पछाडि कुदिरहनु दुःखपूर्ण भएको बताए । ‘मुकुमलुङलाई, पाथीभरालाई जस्ताको त्यस्तै राख्नुपर्छ । पाथीभरा, वनजंगल प्रदेशलाई दिने अनि अतिक्रमणचाहिँ संघबाट हुने यो किन भइरहेको छ ?,’ उनले प्रश्न गरे, ‘निहत्था नागरिकमाथि गोली चलाउनु एकदमै दुःखद कुरा हो ।’
कांग्रेस सांसद शमशेर राईले राज्य पक्षबाट भएको दमनको भत्र्सना गरे । ‘म सोध्छु जब–जब पहिचानसँग जोडिएका फरक मतहरू आउँछन् त्यो नामाकरणको सवालमा होस् वा मुक्कुमलुङको विषयको फरक मतको बारेमा नागरिकहरूले बन्दुकको गोली नै खानुपर्ने बेला हो र यो ?,’ उनले प्रश्न गरे, ‘ताप्लेजुङभन्दा बाहिरकाले बोल्न जरुरी छैन भन्ने भाष्य सिर्जना गरिएको छ । मक्काको विषयमा विश्वभरका मुस्लिमहरूले धारणा राख्न पाएजस्तै मुक्कुमलुङ, खुवालुङ, तुवाचुङ सबै विषयमा सबैले कुरा उठाउन पाउँछन् ।’
कोशी प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले सदनमा ताप्लेजुङमा भएको उक्त घटनाको विषयमा जानकारी दिएका थिए । प्रदेशभित्र भएको दुःखद् घटनाप्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो । प्रहरीभन्दा पहिले आन्दोलनका नाममा विभिन्न जिल्लाबाट मानिसहरू भेला हुने र प्रहरीसँग भिडन्त गर्ने योजना देखिएको उनले बताए ।
‘एक सय बढी लाठी, तीन थान खुकुरी र केही थान गुलेली प्रहरीले बरामद गर्यो । अचानक साँझ ५ः५० मा ढुंगा लडाएर आक्रमण गरियो । प्रहरीले आत्मसुरक्षाका लागि प्रतिकार गरेको हो,’ भण्डारीले भने, ‘त्यस क्रममा २० थान अश्रुग्यास, १० राउन्ड हवाई फायर र दुई राउन्ड गोली चलाउँदा उक्त घटना भएको हो । प्रहरीमाथि सांघातिक हमला भएपछि यो परिस्थिति भएको हो । ९० जनाको प्रहरी टोली त्यहाँ थियो । दुवैतर्फ केही घाइते भयो, हताहती नै भने भएन ।’
एमाले सांसद विदुरकुमार लिङ्थेपले पनि ताप्लेजुङमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै चाँडै स्थानीय, प्रदेश र संघीय सरकार मिलेर निकास दिनुपर्ने माग गरेका थिए ।
प्रदेश सरकारका प्रवक्ताले भने, ‘प्रहरीमाथि आक्रमण गरेपछि घटना भयो ।’
केवलकार निर्माण खारेज गर्न माग
प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले मुन्धुमीस्थल मुक्कुमलुङमा केवलबार निर्माण तत्काल खारेज गर्न र सैन्यकरण बन्द गर्न माग गर्दै माग गरेको छ ।मुन्धुमीस्थल मुक्कुमलुङको मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक आस्थालाई नामेट गर्दै केवलकार लगायतका अन्य संरचनाहरू कुनै पनि बन्न नहुने भन्दै समितिले त्यस्तो माग गरेको हो ।
त्यस क्षेत्रमा बस्नेहरूलाई गम्भीर स्थितिमा पुरयाँएको र कुनै पनि बेला जस्तोसुकै मुठभेट लगायतका कार्यहरू हुन सक्ने भन्दै समितिले भत्र्सना गरेको छ । धार्मिक आस्थालाई प्राकृतिक रूपमा नराखेर विनास गर्दै त्यस क्षेत्रको शान्तिसुरक्षामा गम्भीर असर पर्ने गरी प्रहरी, शस्त्र प्रहरी र नेपाली सेना समेत राखेर लोकतन्त्रको बर्खिलाप गर्ने सरकार प्रति संघर्ष समिति लड्न बाँध्य हुने बताएको छ । साथै यसको सम्पूर्ण जिम्मेवारी केवलकार निर्माण कम्पनी र सरकारले लिनु पर्ने पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।