सवारी दुर्घटनामा महिलाको मृत्यु, तीन घाइते

झापा ,७ माघ । मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४ हापेन चोकमा सोमबार सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।
मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेलले जानकारी दिए । प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र.१–०१–००१ ज ३८५१ नंको जिप एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जिप चालक मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय दिलकुमार थामी, अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ घाइते भएका छन् । उनीहरूको सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ । प्रहरीले अटोरिक्साका चालक ५३ वर्षीय अजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
ट्रकको ठक्करबाट सुनसरीको धरान उप–महानगरपालिका–११ मा एक जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश १–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा पैदल यात्री स्थानीय ८६ बर्षीय वीरबहादुर लामिछानेको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनामा संलग्न सवारी साधन र चालक धरान–८ का ४८ बर्षीय सन्तवीर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.