दमक,१० मंसिर । नेपाली पत्रकारिताले लोकतन्त्रको संस्थागत विकासको निम्ति खबरदारी गर्नुपर्ने झापाको दमकमा आयोजित कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ झापाको हालै सम्पन्न निर्वाचनमा नेपाल प्रेस यूनियनबाट निर्वाचित अध्यक्ष एकराज गिरीसहितका पदाधिकारी,प्रदेश तथा केन्द्रीय परिषद सदस्यहरुको बुधबार यहाँ बधाई शुभकामना था सम्मान अर्पण गर्न आयोजित कार्यक्रममा बोल्दै राजनीतिक तथा सामाजिक क्षेत्रका अगुवाहरुले लोकतन्त्र,संघीय गणतन्त्रको उपलव्धिलाई सुढृण गर्न प्रशस्तै चुनौती देखिदै गएकाले त्यसको रक्षामा सञ्चार जगतको सकरात्मक भूमिका हुनुपर्ने औल्याएका छन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बूले लामो संघर्ष र बलिदानीबाट प्राप्त संघीय गणतन्त्रलाई असफल बनाउन विभिन्न समूह उद्धत भएकाले त्यस्ता विरुद्ध खबरदारी गर्न मिडियाको भूमिका हुनु पर्ने चर्चा गरिन् । समाजलाई सही बाटोमा हिंडाउन लोकतान्त्रिक पत्रकारहरुले मात्र सकारात्मक भुमिका खेल्न सक्ने उनको भनाई थियो ।
उनले भनिन् , ‘ समाजसँग जोडिने राजनीतिक दल र नेताहरुलाई समेत सहि ट्रयाकमा हिंडाउन पत्रकारहरुले योगदान दिनुपर्ने बेलाआएको छ,यसतर्फ ध्यान दिनु होला ’
कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले मिडियाकर्मीहरुले सत्य तथ्य , यथार्थ र विश्लेषणात्मक सामग्रीहरु प्रस्तुत गरेर जो कोहीका गलत कुराहरुको भण्डाफोर गर्नु र सचेत गराउनु आवश्यक भएको पनि उल्लेख गरिन् ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डिराज भण्डारीले लोकतन्त्रको निवौस्थायित्व र देशलाई विकास र समृद्धितर्पm लैजान पत्रकारहरुले निष्पक्ष,निर्भिक भएर जनताको पक्षमा कलम चलाउनु पर्ने विचार राखे ।
सो अवसरमा कांग्रेस नेतृ लिम्बूले नेपाल पत्रकार महासंघ झापा शाखाका नवनिर्वाचित अध्यक्ष एकराज गिरीसहित राष्ट्रिय परिषद सदस्यद्धय बिष्णु सुब्बा र लीला अनमोल, कार्यसमितिका सदस्यहरु देवेन्द्र प्रसाइँ, विनोद पाण्डे, कोशी प्रदेश परिषद सदस्यहरु वेनु अधिकारी, तुलसीप्रसाद निरौला, आत्मराम राजवंशी लगायतलाई ढाका टोपी र माला लगाएर सम्मान गरेकी थिइन् ।
नेपाल प्रेस यूनियन माईपश्चिम क्षेत्रीय समितिका अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा भएको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित महासंघ अध्यक्ष गिरीले पत्रकारहरुका अगाडी अहिले पनि धेरै चुनौतीहरु रहेको बताउँदै चुनौतीकाबीच कर्तव्यनिष्ठ भएर पत्रकार आचारसंंिहता भित्र रहेर कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको बताए ।
कार्यक्रममा दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रवि केसी , कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाई ,नेपाल प्रेस युनियन झापा शाखाका अध्यक्ष गिरीराज भट्टराई लगायतले पनि पत्रकारहरुले समाजको दर्पण बनेर राजनीतिक, सामाजिक अगुवाहरु, सिंगो राज्य संयन्त्रलाई खबरदारी गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि सशक्त भुमिका खेल्नुपर्नेमा जोड दिए ।
उनीहरुले राजनीतिक, सामाजिक परिवर्तनका आन्दोलनहरु सफल बनाउन पत्रकारहरुले अझै दबाबमूलक भूमिका निर्वाह गर्नुपर्ने औल्याएका थिए ।
कार्यक्रममा प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिका उपाध्यक्ष नगेन्द्रमणी न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।
‘पत्रकारिता स्वच्छ, मर्यादित र सशक्त हुनुपर्छ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वच्छ, मर्यादित र सशक्त पत्रकारिताका माध्यमबाट विकास र समृद्धिको यात्रालाई पूरा गर्न सकिने बताएका छन्।
नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई पद हस्तान्तरण तथा प्रमाणपत्र वितरण समारोहमा उनले पेसागतरुपमा स्वतन्त्र भई पत्रकारले स्वच्छ र मर्यादित पत्रकारिता गर्नुपर्ने भन्दै यसले समृद्ध मुलुक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने जोड दिए ।
मुख्यमन्त्री कार्कीले पत्रकारको सामूहिक हकहित र अधिकारको रक्षा गर्ने संस्थाका रुपमा रहेको पत्रकार महासङ्घको निर्वाचन खर्चिलो बन्न नहुने भन्दै सहमति, सहकार्य र एकताबाट असल नेतृत्व छान्नुपर्नेमा जोड दिए । विकास र समृद्धिको यात्रालाई पूरा गर्न पत्रकारिता क्षेत्र सत्यतथ्यमा आधारित हुनुपर्ने बताउँदै उनले संविधानको सर्वोच्चता, मानव अधिकार, लोकतन्त्रको रक्षाका लागि पत्रकारिता सहयोगी हुने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले आगामी हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयक ल्याउने तयारीसँगै सरकारले थप विधेयक सदनमा ल्याउन लागेको जानकारी दिँदै पत्रकारहरुको वृत्ति विकासका लागि लेखन, अनुसन्धान र खोजमूलक सामग्रीको प्रकाशन, सीप विकाससम्बन्धी तालिमलगायत व्यवस्थापन गरिने उल्लेख गरे ।
नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका कार्यवाहक अध्यक्ष मोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका कोशी प्रदेशका संस्थापक अध्यक्ष एवम् मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिका सदस्य शङ्कर खरेल, नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका अध्यक्ष सुशीला पाठक, पत्रकार मोहन भण्डारी, नवराज कट्टेल, लीलावल्लभ घिमिरे, यज्ञ शर्मालगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।