सहकारी ठगीमा संलग्न प्रदेश सांसद खनालका छोरा सुमन पक्राउ

दमक,११ कातिक । सहकारी ठगी आरोपमा झापामा प्रदेश सांसदका छोरा सुमन खनाल पक्राउ परेका छन्। सहकारी ठगीमा संलग्न भएको भन्दै झापा शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खनाललाई प्रहरीले गरेको हो ।
बचतकर्ता र शेयर सदस्यहरूको झण्डै डेढ करोड रुपैयाँ अनियमितता भएको सो सहकारीमा संस्थाका अध्यक्ष खनालले आफूखुसी सहकारीको एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको देखिएको छ । पक्राउ परेका खनाल झापा क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन् ।
कात्तिक ५ गते उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । प्रदेश रजिष्टार कार्यालयमा उजुरी परेर त्यहाँबाट परिपत्र आएपछि सहकारीका अध्यक्ष खनाललाई पक्राउ गरिएको उनले जानकारी दिए । हाल उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । उनलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिए ।
२०७९ साल मंसिर ४ मा निर्वाचन हुनुपूर्व खनालले आफ्ना छोराले गरेको अनियमितताको जिम्मा लिँदै रकम फिर्ता गर्न पनि आफूलाई जिताउन सर्वसाधारणलाई अपिल गरेका थिए ।
तर, निर्वाचन जितेको यतिका समय बितिसक्दा पनि रकम फिर्ता नपाएपछि पीडितहरूले नगरपालिकाको सहकारी शाखामा उजुरी दिएका थिए । सो उजुरीको विषयमा छानबिन गर्न नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई सिफारिस गरेको थियो । भदौको तेस्रो सातातिर खनालविरुद्ध उजुरी परेको थियो ।
केही महिना अगाडि स्थानीयले खनाललाई इलाका प्रहरी कार्यालय झिलझिलेमा झिकाएर केरकार गरेका थिए । उक्त सहकारीको संस्थापक अध्यक्ष पनि उनै खनाल हुन् । आर्थिक वर्ष २०७८–०७९ मा उनले ७० हजार शेयर रकम हिनामिना गरेको शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित समितिको प्रतिवेदनमा उल्लेख छ ।सोही प्रतिवेदन अनुसार खनालले विनाभौचर नै बचतकर्ताको रकम २ लाख ६ हजार ८६८ रुपैयाँ निकालेका थिए । बचतकर्ताको ४२ लाख नगद हिनामिना गरेको, बचतकर्ता तथा संकलकहरूबाट हिसाबभन्दा बढी सङ्कलन भएको रकम जम्मा हुने उन्नति फन्ड एकाउन्टबाट आर्थिक वर्ष २०७९–८० मा २ लाख ३६ हजार ८४० रुपैयाँ निकालेर अध्यक्ष आफैँले आफ्नो बचत खातामा जम्मा गरेको लगायतका विषय प्रतिवेदनमा उल्लेख छ ।यस्तै आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणमा ४१ लाख ६८ हजार ३७७ रुपैयाँ नगद मौज्दात भएको दाबी गरेपनि उक्त रकम अध्यक्षले व्यक्तिगत रूपमा चलाएका थिए ।
आर्थिक वर्ष २०७७–०७८ को लेखापरीक्षण प्रतिवेदनमै संस्थाले लगानी गरेको रकमभन्दा ५ लाख ४९ हजार ५१२ रुपैयाँ ज्यादा लगानी रहेको भनी वित्तीय विवरण तयार पारिएको थियो । आर्थिक वर्ष २०७८–७९ मा उन्नति साकोसको नाममा ५ लाखको कर्जा संस्थाले शेयर सदस्यलाई लगानी गरेको नभई अध्यक्ष खनालले नै मनखुसी चलाएका थिए ।
आर्थिक वर्ष २०७८–७९ मा रमेश अधिकारीको नाममा रहेको १ लाख ९१ हजार ८४९ रुपैयाँको कर्जा लगानी गरेको भए पनि उक्त व्यक्ति नै फेक रहेको अनुगमन समितिले जनाएको छ ।
सञ्चालक समिति अध्यक्षले संस्था स्थापना भएदेखि नै संस्थाको नगद हिनामिना गरी व्यक्तिगत रूपमा चलाएको र उक्त रकममा संस्थाले ब्याज नपाएको हुँदा संस्थापक अध्यक्षबाट आर्थिक वर्ष २०७८–७९ सम्ममा ४४ लाख ३४ हजार १६७ ब्याज पाउनुपर्ने र आर्थिक वर्ष २०७९–८० मा १६ लाख ३१ हजार ३८७ रुपैयाँ ब्याज थप गरी ६० लाख ६६ हजार १९६ ब्याज हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ ।‘उल्लेखित कैफियतहरूलाई समावेश गर्दा संस्थाको अध्यक्षबाट आर्थिक वर्ष २०७८–७९ को अन्त्यमा १ करोड ४४ लाख ८० हजार ३९४ रुपैयाँ पाउनुपर्ने देखिन्छ । साथै आर्थिक वर्ष २०७९–८० को अन्त्यमा १ करोड ६२ लाख ६२ हजार ३६९ रुपैयाँ पाउनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
अध्यक्ष खनालले आफ्नोे शेयरमा १ लाख १० हजार र बचत खातामा २३ लाख २२ हजार ५९९ रुपैयाँ गरी जम्मा २४ लाख २५ हजार ५९९ रुपैयाँ राखेको देखिएको र उक्त रकम कट्टा गर्दा उनले सहकारीलाई अझै १ करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ तिर्नुपर्ने देखिएको प्रतिवेदनले ठहर गरेको छ ।

Leave a Reply

Your email address will not be published.