गौरादह,११ असोज । झापा, गौरादह नगरपालिका वडा नं ८ का वडाध्यक्ष गणेशकुमार राजवंशी विरुद्ध स्थानीय एक जना वडाबासीले दुई वटा मुद्धा हालेका छन् ।
साविक जुरोपानी २ हाल गौरादह नगपालिका वडा नं. ८ बस्ने ६८ वर्षीय कुलेन्द्रप्रसाद राजवंशीले वडाअध्यक्ष राजवंशी विरुद्ध किर्ते र जालसाज विवाह प्रमाणित गराएको र घरको तालाफोडेर धनसम्पत्ति कव्जा गराउन प्रत्यक्ष भूमिका निर्वाह गरेको भन्दै न्यायका लागि अदालतमा जानु परेको बताएका छन् ।
वडाअध्यक्षसहित त्यस काममा सहयोग पुरयाँउने साक्षी भनिएका छिमेकीहरु ललित राजवंशी,हेलन राजवंशी,बुलेन्द्र राजवंशी,चन्द्रकला र पार्वती राजवंशीलाई समेत विपक्षी बनाएर मुद्धा दर्ता गरेको पीडित राजवंशी बताउँछन् ।
जिल्ला अदालत झापामा वडाअध्यक्ष विरुद्ध उनले पछिल्ला एक महिनामा ती मुद्धा दायर गरेको बताए । आफूलाई स्थानीय ३० वर्षीया गंगादेवी कोचले हनीट्रयापमा पारेर आफ्नो सम्पत्ति कव्जा गर्न खोजेकाले विगत तीन महिनाअघि झापा जिल्ला अदालतमा मुद्धा हालेका बखत वडाअध्यक्ष राजवंशीले उनैलाई सहयोग पुग्ने गरि झुठा प्रमाणका आधारमा विवाह प्रमाणित गराएको भन्दै मुद्धा हालेका हुन् । गंगादेवीले आफूलाई कुलेन्द्रले विवाह गरेको दावी गर्दै आएकी छन् ।
सो मुद्धा अदालतमा हाल विचाराधिन अवस्थामा रहेको छ भने वडाअध्यक्षकै संलग्नतामा गंगादेवीले घरजग्गा कव्जा गरेपछि कुलेन्द्र आफनै घरबाट विस्थापित भएका छन् । आफनै नातागोताका कारण घरमा बस्न सक्ने अवस्था छैन् भन्दै असुरक्षाका बीच आफू घर छाड्न बाँध्य हुनुपरेको उनको गुनासो छ ।
वडाध्यक्ष राजवंशीले गंगादेवीको निवेदनका आधारमा गत भदौ १२ गते विवाह दर्ता प्रमाणित गरिदिएका हुन् । गंगादेवीले भदौ ९ गते वडा कार्यालयमा निवेदन दिएकी थिइन् भने सोही दिन वडा कार्यालयले सर्जमिन गरेको बताईएको छ । विवाह दर्तामा कुलेन्द्रसँग गत जेठ २२ गते धार्मिक बिधिपूर्वक कनकाई धाम धार्मिक विकास संस्था कोटीहोममा विवाह भएर दुवै जना श्रीमान श्रीमती भई घरजम गरी बसोबास गरिरहेको उल्लेख छ । जबकि कुलेन्द्र गत असार महिनादेखि घर जान सकिरहेका छैनन् । आफनो विना उपस्थिति र विना मन्जुरी फोटो राखेर विवाह मिति प्रमाणित गरि प्रमाणित गरिदिएपछि उनी न्यायका लागि अदालतसम्म जान बाँध्य हुनुपरेको दावी गरेका छन् । तर,कलेन्द्रले आफूलाई अपहरण गरि कहिले वडा,कहिले अदालत पुरयाँउदै ती कोच महिलासंग सम्पत्ति हुत्याँउन विवाह दर्ताको चालवाजी गरेको सुनाउँछन् । उनले भने, –‘पहिले भिडीयो सुटिङका अभिनयको प्रस्ताव गरि कोटीहोम मन्दिरमा लगेर जर्वजस्ती विवाह गराउने प्रयास गरेका हुन् ’
प्रचलित कानुन बमोजिम २० वर्ष उमेर पूरा भई वैवाहिक सम्वन्ध कायम भएका पुरुष र महिलाले स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा पति पत्नीको रुपमा स्वीकार गरी गरिएको घटना दर्तालाई विवाह दर्ता भन्ने बुझिन्छ । स्थानीय वडामा विवाह दर्ता गराउँदा दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ,दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो आवश्यक पर्दछ ।यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।
विवाह दर्ता गर्न पति र पत्नी दुवै सूचक हुनुपर्छ । यदि दुईमध्ये कुनै एक उपस्थित हुन नसकेमा अनुपस्थित भएको पक्षको अधिकृत वारेसनामा लिई दर्ता गराउन सकिनेछ ।
विवाह दर्ता नभई पति वा पत्नी बेपत्ता भएमा अदालतबाट पति पत्नी नाता कायम भएका निर्णयका आधारमा विवाह दर्ता गराउन सकिने कानुनी व्यवस्था हुदाँहुदै जालझेलमा परेर वडाअध्यक्षले आफूलाई फसाउन खोजेको र त्यो बदर हुनुपर्ने उनको भनाई छ ।
त्यस्तै पति वा पत्नीले विवाह दर्ता गर्न ईन्कार गरेमा पति वा पत्नीमध्ये पीडितले जिल्ला अदालतमा उपस्थित भई पति वा पत्नीको नाता कायम गरी पाँऊ भनी निवेदन दिनुपर्नेछ । सो निवेदनको आधारमा अदालतले गरेको निर्णय अनुसार विवाह दर्ता गर्न सकिने कानुनी व्यवस्था छ ।
तर, वडाध्यक्ष राजवंशीले त्यस्तो कुनै पनि कानुनी प्रक्रिया पूरा नगरि मनोमानी ढंगले विवाह दर्ता गराएको पीडित कुलेन्द्र बताउँछन् ।