पथरिशनिश्चरे, ६ असोज । मोरङको बेलवारीमा यही असोज ११गतेदेखि १९ गते सम्म ‘सातौ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’- २०८१ हुने भएको छ।
आईतबार बेलवारी नगरपालिकाको सभाहलमा एल एक्स सिटी फुटबल क्लबले एक पत्रकार सम्मेलनमार्फत सो प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो।
बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईको प्रमुख आतिथ्यतामा आयोजित सम्मेलनमा उक्त प्रतियोगिता प्रस्तावित लक्ष्मी मार्ग रंगशालामा संचालन गरिनेछ ।
खेलकुद क्षेत्रमै मोरङ जिल्लाकै दोस्रो ठुलो पुरस्कार राशी भएको प्रतियोगिता बेलबारीमा हुन लागेको आयोजकको दावी छ ।
प्रतियोगिताको लागि बेलबारी नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिएको छ ।
२ तोला ५०० ग्राम चादि र २ तोला सुन जडित ८ लाख बराबरको ट्रफी जित्न कुनै एक फुटबल क्लबले लगातार ३ वर्ष सो प्रतियोगिताको उपाधी उचाल्नु पर्नेछ। लक्ष्मी मार्ग निवासी पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मेजर एनबी राईको स्मृतिमा यस वर्षदेखि रनिङ कप गोल्डकपको सौजन्य गरेको राईले जनाए। उनले सोहि अवसरमा खेल आयोजक समितिका अध्यक्ष विक्रम राईलाई ट्रफी हस्तान्तरण गरे।
प्रतियोगिताका प्रथम र दोस्रो स्थान हासिल गर्ने फुटबल टिमले क्रमश ८ लाख र ४ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिने आयोजक एल एक्स सिटी फुटबल क्लब अध्यक्ष राईले बताए । उनले हरेक खेलमा म्यान अफ दि म्याच घोषित खेलाडीलाई ५ हजार नगद दिइने बताए । प्रतियोगिताको फाइनल खेलमा सर्वोकृष्ट खेलाडी , सर्वोत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्सर, सर्वोत्कृष्ट मिटफिल्डर, सर्वोत्कृष्ट गोलकर्ता, उदयमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने जनाईएको छ ।
हाल प्रस्तावित रंगशाला लक्ष्मीमार्गको खेल मैदानमा ३५ सय अट्ने दर्शकहरूको लागि प्याराफिट निमार्ण भईरहेको छ।
प्रतियोगितामा ६० लाख खर्च हुने अनुमान गरिएकोछ।
प्रतियोगितामा झापा- ११ एफसी , एल एक्स सिटी एफसी, भोजपुर डी एफ ए, ब्रिगेड बोइज काठमाडौँ , सलहेश युथ क्लब सिराहा, डल्सिङ पारा एस ए इन्डिया , रारा एफ सी धनकुटा, बुटवल लुम्बिनी एफसी बुटवल, चितलाङ एफसी काठमाडौँ र नेपाल पुलिस क्लब काठमाडौँ गरी कुल १० वटा टिमले सहभागिता जनाउनेछ।
उक्त अवसरमा बेलबारी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत किरण प्रसाद ढकाल , खेल आयोजक समितिका पदाधिकारीहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो।